अविरल वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा पुर्याएको क्षतिको प्रारम्भिक विवरण मंगलबार सार्वजनिक गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले सात जनाको मृत्यु र दुई वेपत्ता भएको विपद्का कारण सडक, खानेपानी, नदी नियन्त्रण, विद्युत्, सञ्चार, सिँचाइ पूर्वाधार र निजी सम्पत्तिमा अर्बौंको क्षति भएको विवरण सार्वजनिक गरेको हो।
प्रमुख जिल्ला अधिकारी गणेश गैरेले सुरक्षा निकायका प्रमुखको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा विपद्पछिको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेका थिए। 'जिल्लाभर १११ घर पूर्ण रुपमा क्षति भएको छ,' उनले भने, '९३ घरमा आंशिक क्षति पुगेको छ भने ३४२ घर पहिरोको उच्च जोखिममा परेको छ।'
प्रारम्भिक विवरणअनुसार बेनी-जोमसोम सडकखण्डमा मात्रै करिब रु ८० देखि ९० करोड बराबरको क्षति भएको छ। बेनी-दरबाङ सडकखण्डमा करिब रु आठ करोडको क्षति पुगेको छ। सदरमुकाम बेनीमा वितरण हुने खानेपानीका संरचनामा रु आठदेखि १० करोड बराबरको क्षति भएको छ।
यस्तै, विद्युत् संरचनामा करिब रु दुई करोड ५० लाखको क्षति पुगेको प्रशासनले जनाएको छ। प्रहरी नायब उपरीक्षक राजन कार्कीले पूर्वसर्तकता र सावधानीले मानवीय क्षति न्यूनीकरण भएको बताउँदै भौतिक क्षति भने अकल्पनीय रहेको बताए। विपद्पछि खोज, उद्धार र राहतमा तीनै तहका सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि र संघसंस्था परिचालन भएका छन्।
बाढीपहिरोका कारण नेपाल टेलिकमको अप्टिकल फाइबरमा क्षति पुगेको तथा तीनवटा टावरमा इन्धन अभाव भएपछि सञ्चार सेवा प्रभावित भएको छ। विद्युत् सेवा अवरुद्ध हुँदा शिख, पुनहिल, पोखरेबगर, घोरेपानी, बेगखोलालगायत ग्रामीण क्षेत्र अझै अन्धकारमा रहेको छ।
खोजी, उद्धारको चरणपछि राहत वितरण, विस्थापितको व्यवस्थापन, क्षतिको विवरण सङ्कलन कार्यलाई पूर्णता, अवरुद्ध सडक, विद्युत, सञ्चार र खानेपानी पुनः सञ्चालन गराउन केन्द्रित भएको प्रजिअ गैरेले बताए।
सडक सम्पर्कविच्छेद भएका अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा हेलिकप्टरमार्फत ३०० भन्दा बढी घरपरिवारलाई राहत सामग्री पुर्याइएको छ। विपद्का कारण जोखिममा परेका दुई गर्भवती तथा दुई जना गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गरी तत्काल अस्पताल पुर्याइएको उनले जानकारी दिए।
बाढीपहिरोबाट विस्थापित परिवारलाई हाल स्थानीय विद्यालय, सामुदायिक भवन तथा आफन्तको घरमा राखिएको छ। पूर्णरुपमा घर क्षति भएका परिवारका लागि तत्काल अस्थायी आवासका रुपमा बलिया टेन्टको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी गैरेले बताए।
बाढीपहिरोबाट क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधार मर्मतको काम तीव्र पारिएको छ। हाल बेनी-दरबाङ-मुना र बेनी-जोमसोम सडकको बैसरीसम्म सञ्चालनमा आएको छ। बाढीपहिरो प्रभावित क्षेत्रको जोखिम अध्ययनका लागि बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकामा भौगर्भिक टोलीले अध्ययन सम्पन्न गरिसकेको छ। अन्नपूर्ण, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका जोखिमयुक्त क्षेत्रमा थप भौगर्भिक अध्ययनका लागि पहल भइरहेको प्रशासनले जनाएको छ।
विपद्बाट विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापना, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा प्रभावितको जीवनलाई पुरानै अवस्थामा फर्काउन केन्द्रित हुने प्रजिअ गैरेले बताए।
प्रकाशित: २१ आश्विन २०८३ ०६:३५ बुधबार





