नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तह नजिक पुगेको छ।
नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार आज दिउँसो ३ बजे नदीमा पानीको सतह ८ दशमलव ९८ मिटर पुगेको छ।
बाढीले देवघाटस्थित जलमापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतराको तह मानिन्छ। केन्द्रका अनुसार देवघाटमा पानीको सतह निरन्तर बढ्दो क्रममा रहेको छ। नदीमा ७ दशमलव ३ मिटर पानीको सतह पुग्दा चेतावनीको तह मानिन्छ।
नदीले शुक्रबार राति नै चेतावनीको तह पार गरेको केन्द्रले जनाएको छ। नदीमा पानीको बहाब बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जानकारी दिए।
‘बाढीको जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा सार्ने, नदी किनारमा नजान माइकिङ गर्नेलगायत कामहरू भइरहेका छन्’, उनले भने, ‘जिल्लाको गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका नारायणी नदीको बाढीको जोखिममा रहेका पालिका हुन्।’
त्यस्तै, बौदिकाली र बुलिङटार गाउँपालिका कालीगण्डकी नदीको बाढी तथा पहिराको जोखिममा रहेका भन्दै प्रजिअ उपाध्यायले प्रभावितलाई सुरक्षित स्थानमा राख्ने काम भएको बताए।
बाढी र पहिराबाट प्रभावितको उद्धार तथा राहतका लागि जिल्लाका सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिएको उपाध्यायले जानकारी दिए। ‘हामीले जिल्लामा विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका सबै प्रयास गरेका छौं’, उनले भने, ‘विपद् आइहालेमा उद्धार र राहतका लागि सुरक्षा निकायलाई सतर्क अवस्थामा राखेका छौं।’
नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्माण गरिएको गण्डक ब्यारेजका सबै ढोका खुला गरिएको छ। नारायणी नदीमा पानीको बहाव चेतावनीको तह पार गरेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको हो।
इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेश पालले गण्डक ब्यारेज वाल्मीकि नगरलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार हाल ब्यारेजमा पानीको सतह तीन लाख ४०० क्युसेक पुगेको छ।
ब्यारेजमा पानीको सतह तीन लाख क्युसेक पुगेपछि चेतावनीको तह मानिने पालले बताए। नारायणी नदीमा पानीको बहाव बढेपछि शुक्रबार रातिदेखि नै गण्डक ब्यारेजका सबै ढोका खुला गरिएको पालले जानकारी दिए।
नदीमा बाढी आएसँगै नदीबाट निकालिएको नेपाल र भारततर्फको दुवै नहरमा पानी पूर्णरूपमा बन्द गरिएको पालको भनाइ छ। ब्यारेजमा पानीको सतह बढ्दै गरेको उल्लेख गर्दै पालले ब्यारेजको माथिल्लो पानीको सतह ३५९.२ फिट तथा तल्लो पानीको सतह ३५७ दशमलव ६ फिट पुगेको जानकारी दिए।
ब्यारेजमा पानीको बहाव बढ्न थालेपछि सुस्ताको जमिन डुबानमा परेको भन्दै पालले बाढी प्रभावितलाई सुरक्षित स्थानमा लैजाने काम गरिएको जानकारी दिए।
प्रकाशित: १० आश्विन २०८३ १५:४२ शनिबार





