सडक विभागका इन्जिनियरहरूले आगामी दसैंअगाडि नै नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभिरमा सडक बनाउने गरी काम थालेका छन्। उनीहरूले पहाडको भित्ता काटेर नयाँ ट्र्याक खोल्ने प्रयास गरिरहेका छन्। विभागका महानिर्देशक डा. विजय जैसीले मौसमले साथ दिए एक साताभित्रै नयाँ ट्र्याक खुलाउन इन्जिनियरहरू लागिपरेको बताए। ‘तर घाम लागेन र लगातार पानी परिरह्यो भने दुई तीन साता पनि लाग्न सक्छ,’ जैसीले भने, ‘तर जसरी पनि दसैंअघि नै कृष्णभिर खुलाउने गरी काम गरिरहेका छौं।’
कृष्णभिरमा कुन विधि अपनाएर सडक खुलाउने भनी नेपाल जियोटेक्निकल सोसाइटीले स्थलगत अध्ययनपछि विभागलाई प्रतिवेदन बुझाइसकेको छ। उक्त टोलीको नेतृत्व नरेशमान शाक्यले गरेका थिए। उक्त टोलीले दिएको प्रतिवेदनका आधारमा विभागले काम सुरु गरेको छ।
विभागका इन्जिनियर र कामदारहरू अहिले त्यस क्षेत्रमा पुगिसकेका छन्। जैसीका अनुसार उक्त टोलीले कृष्णभिरमा अहिले बगेको सडकभन्दा करिब १० मिटरसम्म पहाडको भित्ता काटेर अर्को सडक खुलाउन सकिने भन्दै प्रतिवेदन बुझाएको छ। उक्त टोलीले दिएको सुझावकै आधारमा काम अघि बढाएको बताइएको छ।
भित्ता काट्नेबित्तिकै त्यस ठाउँमा पर्खाल लगाउने, सडकमा पानी निकास गर्न कुलेसो बनाउने, सिट पायल गाड्नेजस्ता संरचना तयार गर्न सुझाव टोलीले दिएको छ। ‘तल पहिरो गएको ठाउँको मुनिबाट पर्खाल लगाउन सकिन्न किनभने त्यो जोखिम पूर्ण हुन्छ। अहिले हामीले काम गर्ने भनेको भित्ता काटेर नै नयाँ ट्र्याक खोल्ने हो।’
जियोटेक्निकल सोसाइटीले कृष्णभिरको पहिरो खुलाउन आपत्कालीन डिजाइन तयार गरेर सडक विभागलाई बुझाइसकिएको छ। उक्त डिजाइनकै आधामार विभागमातहतको नागढुंगा–मुग्लिन सडक आयोजनाले काम गरिरहेको छ। उनका अनुसार कृष्णभिरमा पहिरो जाँदा करिब २०० मिटर सडक खसेको छ।
भित्ता काटेर नयाँ खुलाइएको ट्र्याकमा तत्काल कालोपत्र नगरिने विभागका महानिर्देशक जैसीले बताए। ‘पहिले हामीले ग्राभेल बनाउने छौं। त्यस सडकले गाडीको भार कति थेग्न सक्छ भन्ने परीक्षण गर्छौं। गाडीको भर थेग्न सक्यो भने तत्कालै कालोपत्रे गर्छौं,’ उनले भने, ‘कृष्णभिरमा विभागले बनाउन लागेको नयाँ ट्र्याक दुई लेनको हुने छ।’
भदौ १४ गते बिहान कृष्णभिरमा पहिरो गएको थियो। त्यस दिनयता नेपालको लाइफलाइन सडक ठप्प छ। यसबाट काठमाडौंमा एक किसिमबाट अघोषित नाकाबन्दी नै लागेको छ। भदौ १४ गतेयता काठमाडौंसँग काठमाडौंबाहिरका ६७ जिल्ला जोड्ने सडक उक्त दिनबाट ठप्प छ। मलेखुदेखि मुग्लिनका बिचमा कृष्णभिर छ।
उक्त भिर मलेखुबाट करिब १० किलोमिटर पर छ। विभागका एक कर्मचारीका अनुसार कृष्णभिरमा गत असारदेखि नै नदीले क्षति पुर्याउन थालेको थियो तर बेवास्ता गरिएको थियो। ‘गत असारमै राम्रोसँग मर्मत गरेको भए सम्भवतः यतिबेला पहिरो जाने थिएन कि ?’ एक कर्मचारीले भने, ‘गत भदौ १० गते भोटेकोसी बाढीले कृष्णभिरको जगमा झनै क्षति पुर्यायो।’
कृष्णभिरमा पहिलो जाँदा हाल मुग्लिन–नागढुंगा सडक सुनसान छ भने हेडौंडादेखि काठमाडौं आउने सडकमा सवारीसाधनको चाप छ। कृष्णभिरमा पहिरो जाँदा अहिले वैकल्पिक सडकका रूपमा त्रिभुवन राजपत्र र कान्ति लोकपथलाई प्रयोग गरिएको छ। अहिले ती दुई सडक निकै व्यस्त छन्।
विदुरदेखि बेत्रावतीसम्म सडकको पुनर्निर्माण हुँदै
भोटेकोसी बाढीबाट ध्वस्त सडकमध्ये विदुरदेखि बेत्रावतीसम्म करिब १० किलोमिटर सडकको पुनर्निर्माण भइरहेको छ तर स्थानीयवासीले विवाद सिर्जना गर्न दुई किलोमिटर सडकको पुनर्निर्माण भने अझै हुन सकेको छैन।
विभागका महानिर्देशक जैसीका अनुसार दुई किलोमिटर सडक पुनर्निर्माणको काम सुरु गर्न लाग्दा सडकले छुने जग्गाको विषयमा स्थानीयबिचमै विवाद निम्तिएको छ। त्यसकारण दुई किलोमिटर सडकमा काम हुन सकेको छैन। त्यस क्षेत्रमा विवादको टुंगो लाग्नेबित्तिकै पुनर्निर्माण काम अघि बढ्ने उनले बताए। जैसीका अनुसार विदुरदेखि बेत्रवतीसम्म सडकको पुनर्निर्माण गर्न सके विदुर हुँदै धुन्चेसम्म जाने सडक खुला हुने छ।
त्यसपछि धुन्चे जान सहज हुने छ। ‘तर धुन्चे, स्याफ्रुबेंसी रसुवागढी सडक तत्काल पुर्निर्माण गर्न कठिन छ किनभने अहिले त्यस सडकको नामनिसाना नै छैन,’ जैसीले भने। रसुवागढी बाढीले बाढी प्रभावित जिल्लामा ४० मिटर सडक ध्वस्त बनाएको छ।
प्रकाशित: २० भाद्र २०८३ ०८:३८ शनिबार




-600x400.jpg)
-600x400.jpg)