बाख्रा चराउन जङ्गल गएको समयमा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ का ५ जना महिलाले लगाएको सुन लुटपाट गरेर निर्घात कुटपिट गरिएको छ।
अज्ञात समूहले राप्ती सोनारी–३ बैशा र नवलपुर गाउँका ५५ वर्षीय बिसमति थारु, सोही ठाउँका ५५ वर्षीय श्यामकुमारी थारु, ६५ वर्षीय मंगरी थारु, ५५ वर्षीय रामकलिया थारु र ४५ वर्षीय गौरी थारुको सुनका गहना लुटपाटसहित कुटपिट गरी घाइते बनाएको हो।
घाइते महिलाका अनुसार नेपाली भाषा बोल्ने मधेसी मुलका ३/४ जनाको समूहले गाउँदेखी पुर्वतर्फ रहेको जङ्गलमा बाख्रा चराउन गएको समयमा शुक्रबार सुन लुटपाट गरी निर्घात कुटपिट गरेको हो।
महिलाहरूले कान र नाकमा लगाएको डेढ तोलाभन्दा बढी सुन उक्त समूहले लुटेर लगेको स्थानीय बासिन्दाले ईश्वरी केसीले बताइन्।
उक्त घटनाका विषयमा स्थानीय बासिन्दाले जानकारी पाएपछि घाइते महिलाहरूको उद्धार गरी उपचारका लागि राप्ती सोनारी अस्पताल पुर्याएका थिए। अस्पतालले त्यहाँ सामान्य उपचार गरेर थप उपचारका लागि नेपालगन्ज पठाएको छ।
घाइते सबैको नेपालगन्जस्थित सञ्जीवनी अस्पताल(नर्सिङ होम)मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घटनामा संलग्न व्यक्तिको खोजीका लागि सुरक्षाकर्मीसहित ठुलो सङ्ख्यामा स्थानीय बासिन्दा जङ्गलमा परिचालन भएका छन्।
घाइतेहरू मध्ये बिसमतिको दुवै हात र रामकलियाको दायाँ खुट्टा भाँचिएको स्थानीय बासिन्दा केसीले सुनाए। उनीहरूको कान र नाक च्यातिएका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक पातलीले उक्त घटनामा संलग्न भएको आरोपमा ८ जना व्यक्ति पक्राउ गरिएको जानकारी दिएका छन् । राप्ती सोनारी र नरैनापुरको जङ्गल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको उनले बताए।
‘घटनामा संलग्न भएको आशङ्कामा उनीहरू पक्राउ परेका हुन्, उनीहरूमाथि सोधपुछ गर्न बाँकी छ,’ डिएसपी पातलीले भने, ‘पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि कोहलपुर ल्याईदैछ ।’
प्रकाशित: १ जेष्ठ २०८३ १८:५३ शुक्रबार



-600x400.jpg)

