प्युठानको स्वर्गद्वारी नगरपालिकाको विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे शव फेला परेको छ।
बिहीबार बिहान करिब ७ः३० बजे स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा नाम, थर र वतन नखुलेका पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका-९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२/१३ वर्षका बालकको शव फेला परेको छ।
त्यस्तै, स्वर्गद्वारी नगरपालिका-३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको छ। स्वर्गद्वारी-४ गोठीबाङस्थित माडी खोलाको किनारमा पनि एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।
स्वर्गद्वारी नगरपालिका-५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा घुँडादेखि तल बायाँ खुट्टा नभएको अवस्थामा एक महिलाको शव फेला परेको छ। सोही स्थानमा नाम, थर र वतन नखुलेको अर्की महिलाको शवसमेत भेटिएको छ। फेला परेका शवहरू सबैको पहिचान खुल्न सकेको छैन।
प्रहरीले शवको पहिचानका साथै घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले परिवारका कुनै सदस्य हराइरहेको भए जिल्ला प्रहरी कार्यालय प्युठानमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।
प्रकाशित: २८ श्रावण २०८३ ११:४८ बिहीबार





