२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

झापामा २३ लाख मूल्यभन्दा बढीका पटका नष्ट

फाइल तस्बिर

सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले करिब रु २३ लाख ५९ हजार बराबरका पटका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरेको छ ।

गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार तिहार तथा छठ पर्वलाई लक्षित गरी सीमा नाकाबाट अवैध रूपमा भित्र्याएका पटका तथा आतिसबाजीजन्य सामग्री विभिन्न समयमा फरक फरक स्थानबाट नियन्त्रणमा लिइएको थियो । बरामद सामग्री शुक्रबार गण परिसरमा खाल्डो खनी नष्ट गरिएको उनले जानकारी दिए।

चाडपर्वका समयमा यस्ता विष्फोटक पदार्थको प्रयोगबाट आगलागी, मानवीय दुर्घटना, धनजनको क्षति तथा ध्वनि र वातावरणीय प्रदूषण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै अवैध ओसारपसार तथा बिक्री वितरण नियन्त्रणलाई प्राथमिकतामा राखिएको कर्माचार्यले बताए।

पटका तथा आतिसबाजीको अनियन्त्रित प्रयोगले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पार्नुका साथै आगलागी तथा अन्य दुर्घटनाको जोखिम बढाउने भएकाले यस्ता सामग्री प्रयोग नगर्न उनले जिल्लावासीलाई आग्रह गरे। बरामद सामग्री स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको रोहवरमा नष्ट गरिएको हो ।

यसअघि कात्तिक १० गते पनि सशस्त्र प्रहरीले रु तीन लाख १६ हजार ५९० बराबरका पटका बरामद गरी नष्ट गरेको थियो । 

प्रकाशित: २० कार्तिक २०८३ १९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App