कोहलपुरको साझा चोकस्थित सहकारी संस्था लिमिटेड अगाडी आइतबार बिहान घण्टौँ समयसम्म लाइनमा उभिएका किसानहरू रासायनिक मल नपाएर अन्ततः रित्तै हात घर फर्किए । उक्त सहकारी संस्थाले सार्वजनिक सूचनामार्फत आफ्ना शेयर सदस्य (किसान) हरूलाई प्रतिव्यक्ति २० किलोका दरले मल वितरण गर्ने भनी आइतबार बोलाएको थियो।
सोही सूचना अनुसार किसानहरू बिहान ४ बजेदेखि नै लाइनमा उभिए । सहकारी संस्थाको कार्यालयमा किसानहरू यति धेरै उपस्थित भए की वितरण गर्न नै कठिन भयो । भिड व्यवस्थापन गर्न प्रहरी नै परिचालन गरियो । तरपनि सहकारी संस्थाले मल वितरण गर्न सकेन । भोक भोकै घण्टौँ समयसम्म लाइनमा उभिएका किसानहरू अन्ततः मल नपाएर रित्तो हात घर फर्किनुपर्यो ।
सहकारी संस्थाले पुनः अर्को सूचना निकालेर किसानको धेरै भिड बढेका कारण रासायनिक मल वितरण गर्न नसकिएको भनेको छ । ‘जाबो २० किलो मलका लागि बिहानभर लाइनमा उभियौँ, तरपनि मल नपाएर रित्तो हात घर फर्किनुपर्यो,’ किसान शेरबहादुर खड्काले भने, ‘कृषि प्रधान देशमा हामी किसानको यो अवस्था छ । ’
सहकारी संस्थाका अध्यक्ष पारशनाथ थारुले मलको मौज्दात भन्दा किसान बढी उपस्थित भएका कारण वितरण गर्न नसकिएको बताए । उनका अनुसार उक्त सहकारी संस्थामा १० हजार ३ सय जना सदस्यहरू छन् । सहकारी संस्थाले माग अनुसारको मल नपाउँदा वितरणमा समस्या आएको उनले सुनाए । गत असारमा सहकारी संस्थाले १ सय ८० बोरा रासायनिक मल सहज रुपमा वितरण गरेपनि यसपटक २ सय बोरा मल वितरण गर्न समस्या भइरहेको अध्यक्ष थारु बताउँछन् ।
कोहलपुरमा जस्तै बाँकेका ८ वटै स्थानीय तहमा रासायनिक मल वितरण गर्न सहकारी संस्थाहरूलाई हम्य–हम्य परिरहेको छ । जिल्लाको नेपालगन्ज, खजुरा, डुडुवा, जानकी, राप्ती सोनारी, नरैनापुर, बैजनाथमा पनि किसानहरू दिनहुँ सहकारी संस्थामा लाइन लागेर रित्तो हात फर्किने गरेका छन् ।
सरकारले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेसन हुँदै कृषि सहकारी संस्थामार्फत किसानलाई वर्षेनी रासायनिक मल वितरण गर्ने व्यवस्था मिलाएको छ । तरपनि हरेक वर्ष खेतीको समयमा किसानले पर्याप्त मात्रामा मल पाउँदैनन् ।
किसानले मल नपाउनुमा सरोकारवाला निकायको आ–आफ्नै तर्क छन् । कृषि सामाग्री कम्पनी लिमिटेडका नेपालगन्ज शाखा प्रमुख पुष्पराज श्रेष्ठ लक्ष्य अनुसार रासायनिक मल प्राप्त नहुँदा किसानलाई पुर्याउन समस्या भएको तर्क गर्छन् । उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ६ हजार मेट्रिक टन युरिया, २ हजार पाँच सय मेट्रिक टन डिएपी, ३ सय मेट्रिक टन पोटास वितरण गर्ने लक्ष्य रहे पनि प्राप्त नै हुन सकेको छैन । उक्त आर्थिक वर्षमा युरिया मल ४ हजार ८ सय ४५ मेट्रिक टन, डिएपी २ हजार ९ सय ८ मेट्रिक टन र पोटास २ सय ७१ मेट्रिक टन आएको कम्पनीले जनाएको छ । केन्द्रबाट माग अनुसारको मल नआउँदा सहकारीमार्फत किसानलाई वितरण गर्न समस्या भएको उनले सुनाए । ‘माग अनुसार मल नआउँदा समस्या भएको हो,’ श्रेष्ठले भने ।
उता कृषि सामाग्री कम्पनी लिमिटेड केन्द्रीय कार्यालयका सूचना अधिकारी पुण्यप्रसाद उपाध्यायले निर्धारित कोटा अनुसार रासायनिक मल जिल्लामा पुगिरहेको बताए । ‘मलको समस्या छैन, निर्धारित कोटा अनुसारको मल पुगिरहेको छ,’ उनले नागरिकसँग टेलिफोनमा भने ।
प्रकाशित: १८ श्रावण २०८२ १६:५२ आइतबार





