१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

वर्षाको कामना गर्दै कृषकहरू शिव शरणमा

वर्षा नहुँदा चिन्तित बनेको कृषकहरू पानीको माग गर्दै तौलिहवा स्थित तौलेश्वर महादेवको मन्दिरमा पूजापाठ गरेका छन्। धान रोप्ने समयमा बीउ समेत छर्न नपाएर आत्तिएका कृषकहरू पानीको पुकार गर्दै सो मन्दिरमा पुगेका हुन्।

मन्दिरमा दिनहुँ जसो जिल्लाका विभिन्न स्थानबाट हजार बढी भक्तजनहरू पानीको पुकार गर्दै आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम कुमार गुप्ताले बताए। उनले भने,‘प्रायः जसो सोमबारका दिन भीड लाग्ने मन्दिरमा अहिले भने पानीको माग गर्दै दैनिक हजार बढी भक्तजनहरू आउने गरेका छन्।’

असारको आधा महिना बित्दा लाग्दा समेत पानी नपरे पछि विशेष गरेर जिल्लाको उत्तरी भेगमा पर्ने गाउँका थारु महिलाहरू मन्दिरमा आउने गरेका छन्। पम्मसेटले सिँचाइ गरेर ब्याड राखिएको ब्याड समेत डढ्न थालेको कृषकहरू बताउँछन्।

बाणगंगा नगरपालिका कोपवा, हथौसा, बुढ्ढी, गजेहडा, कपिलवस्तु नगरपालिको तिलौराकोट, निग्लिहवा बुद्धभुमी नगरपालिकाको रनगाई, बक्डरिया बुढ्ढी लगायत गाउँका महिलाहरू मन्दिरमा पूजापाठका लागि आउने गरेका छन्।

शिवको प्यारो महिना साउन, शिवरात्रि, बालाचुर्तदशी लगायतका पर्वमा भक्तजनहरूको लाग्ने भीड मन्दिरमा अहिले नै देखाएको छ। थारु महिलाहरूले विशेषतः मन्दिर भित्र रहेको शिवलिङ्मा गाईको दूध चढाएर पूजापाठ गर्ने गरेका छन्।

वर्षाको कामनाका लागि मंगलबार गाँउका ३ सय बढी महिलाहरूसँग मन्दिरमा पुगेकी बुद्धभुमी नगरपालिका – ३ रनगाई की सहुनी थारुले मन्दिरमा एक लिटर दूध चढाएर पूजापाठ गरेको बताइन। ‘असरा आधा महिना सकिन लाग्यो पानी परेन, बीउ समेत छर्न पाइएन, त्यसैले शिवको शरणमा पुगेका हौ,’ उनले भनिन् ‘शिवजीले हाम्रो कामना अवश्य सुन्नु हुन्छ, केही दिन मै वर्षा हुन्छ।’  

यस्तै २५ किलोमिटर यात्रा तय गएर मंगलबार मन्दिर पुगेकी बुढ्ढीकी दिपकुमारी थारुले आफूहरूको पुकार सुनेर भगवान् शङ्कर पानी पार्ने विश्वास व्यक्त गरिन्। पानी नपर्दा यसरी नै पुस्तौँ देखि शिवको शरणमा पूजापाठ गर्ने परम्परा रहेका बताउँदै उनले अबको एक हप्ता भित्रै शिवले वर्षा गराएर आफूहरुको कामना पुरा गर्ने बताइन्।

केही दिन यता आकाशमा कालो बादल देखिएर पानी पर्ला जस्तो भए पनि वर्षा भने हुन सकेको छैन। जसले गर्दा मुठी छरेर मानो फलाउने आस लिएर बसेका कृषकहरु चिन्तित बनेका छन्। लबनी लगायतका केही स्थानमा सामान्य केही दिन अघि सामान्य वर्षा भएको थियो। पानी नपरे पछि ब्याड समेत सुक्न थालेको कृषकहरू बताउँछन्।

लुम्बिनी प्रदेश मै सबभन्दा बढी ६५  हजार हेक्टरमा धान खेती कपिलवस्तुमा गरिने भए पनि २० प्रतिशतको हाराहारीमा मात्र सिँचाइ सुविधा रहेको कृषि ज्ञान कार्यालयले जनाएको छ। लामो समयको खडेरीले नदीनाला, पाेखरी, कुलो ,नहरमा पानी सुकेकोले समेत कृषकहरु थप मर्कामा परेका छन्।

गत वर्ष जेठ अन्तिमबाट रोपाई सुरु भएको थियो तर यस वर्ष कृषकहरुले छिटपुट बाहेक बीउ समेत छर्न पाएका छैन। उता जिल्लाको विभिन्न स्थानमा रहेका शिव मन्दिरहरुमा पानीको माग गर्दै अखण्ड कीर्तन समेत सुरु गरिएको छ।

गाउँ गाउँमा भक्तजनहरू जम्मा भई पानीको माग गदै भजन, कीर्तन, पूजापाठ गर्ने गरेका छन्। पूजापाठ, कीर्तनले समेत पानी नपरे जिल्लामा भ्यागुताको विवाह गराउने, महिलालाई हलो जोत्न लगाउने चलन छ। 

प्रकाशित: ९ असार २०८३ १३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App