१५ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

सम्पर्कविहीन छोरा घर फर्किने आशामा परिवार

जोनापुरका विनोद डगौराले छोरो घर फर्किने आशामा बसेको आज पाँच दिन बित्यो।

भोटेकोशी बाढीका कारण छोरा सम्पर्कमा नआएकाले डगौँराका परिवार चिन्तित छन्। रसुवाको स्वाफ्रुबेँसीस्थित जलविद्युत् आयोजनामा मजदुरी गर्थे उनका छोरा।

गत जेठ महिनामा छोरा दीपेन्द्र रसुवा गएका थिए। डगौराका परिवार दीपेन्द्रको खोजीका लागि काठमाडौ‌ जाने तयारी हुँदै गर्दा कृष्णभीरको पहिराका कारण रोकिन पर्यो।

दुई दिनअघि परिवारको सम्पर्क नरहेका यहाँका चार जना काठमाडौं जाने भन्दै थियौँ’, डगौराले भने, ‘सडक अवरुद्ध भयो भनेपछि रोकियौं। जहाजमा जाने क्षमता भएन।’

दीपेन्द्र घरका एक्ला छोरा हुन्। बाढी आउनु केही दिनअघिसम्म परिवारको सम्पर्क भए पनि बाढीपछि उनको अवस्थाबारे कुनै जानकारी छैन।

‘परिवारको एक्लो छोरा हुन् दीपेन्द्र। अब त सम्पर्कमा आउने आशा पनि न्यून हुँदै गयो’, उनले भने, ‘छोरो सम्पर्कविहीन भएपछि परिवारमा दुःख आइलागेको छ।’

गाउँका अन्य युवासँग रसुवा गएका दीपेन्द्रका साथीसमेत परिवारको सम्पर्कभन्दा बाहिर छन्। उनले छोराको सकुशल रिहाइको आशा मारेका छैनन्। ‘सबैतिर सरकारले उद्धार गरिरहेकाले कति सुरक्षित ठाउँमा छोरो भेटिन्छ की जस्तो लाग्छ’, उनी भन्छन्। 

टिमुरे भन्सारमा कार्यालयमा कार्यरत भीमदत्त नगरपालिका–१३ बडैपुरका नरेशदत्त जोशीका आफन्त पनि खोजीका लागि काठमाडौं पुगेका छन्।

काठमाडौं पुगेका जोशीको छोरीज्वाई टीका भट्टले आशा मारेका छैनन्। ‘टिमुरे भन्सारबाट ज्यान जोगाएर आएका भन्सार कर्मचारीसित भेट गरेँ’, भट्टले भने, ‘टिमरे बजार नै बाढीले बगाइसक्यो। शवहरु अहिले पनि त्यहाँ छरपष्ट छन् भन्ने सुनियो।’

गत शुक्रबार काठमाडौं पुगेका भट्टले टिमुरे भन्सार कार्यालयबाट सम्र्पकविहीन १५ जना कर्मचारीका आफन्त खोजीका लागि काठमाडौं पुगेको बताए।

त्यसैगरी, यहाँको लालझाडी गाउँपालिका–५ का पदमसिंह साउद अपर त्रिशूली जलविद्युत् आयोजनामा काम गर्थे। बाढी आउनुअघि सोही दिन बिहान साढे ७ बजे परिवारका सदस्यहरुसित कुराकानी भएको साउदका भतिज खडक थापाले जानकारी दिए।

‘काकाको प्रायः राति डियुटी हुनाले त्यो दिन बिहान घरमा कुरा गरेर सुत्छु भनेर फोन राख्नुभयो। त्यसपछि सम्पर्क नै भएन’, थापाले भने, ‘परिवारका सदस्यले फर्किने आशा मारिसकेँ।’

उनले काका बस्ने जलविद्युत् आयोजनाको क्याम्प नै बाढीले बगाइसकेकाले फर्किने आशा मरिसकेको बताए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले भोटेकोशी बाढीबाट कञ्चनपुर घर भएका ३९ जना मध्ये सात जना मात्रै परिवारको सम्र्पकमा आएको बताए।

‘दुई जना उपचाररत र सात जना परिवारको सम्पर्कमा आउनुभयो’, उनले भने, ‘अन्यको खोजी कार्य जारी छ। प्रहरी प्रधान कार्यालयसित नियमित समन्वय हुँदैछ’, उनले भने। 

प्रकाशित: १५ भाद्र २०८३ १८:१२ सोमबार