३१ असार २०८३ बुधबार
image/svg+xml
समाज

विकल्पबिना होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाइए

नागार्जुन–इचङकुनारायणस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्दै आएका सुकुम्बासी परिवारलाई शनिबार त्यहाँबाट हटाइएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको निर्देशनअनुसार होल्डिङ सेन्टर खाली गराइएको हो। 

समितिले यसअघि असार १९ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। पछि समयसीमा थप गर्दै असार २७ सम्म बस्न अनुमति दिइएको थियो। अन्ततः निर्धारित समय सकिएसँगै त्यहाँ रहेका परिवारलाई स्थान छाड्न लगाइएको हो। 

होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीका अनुसार भक्तपुरको खरिपाटीबाट १६ परिवारलाई त्यहाँ राख्नका लागि आफूहरूलाई अन्यत्र कोठा खोजेर जान भनिएको छ। तर वैकल्पिक आवासको कुनै व्यवस्था नगरिएकाले आफूहरू पुनः घरबारविहिन हुने अवस्थामा पुगेको बताउँछन्। 

गत वैशाखमा राजधानीका विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाइएपछि सरकारले प्रभावित परिवारलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राख्दै स्थायी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको थियो।  

होल्डिङ सेन्टरमा बस्दै आएका वृद्धवृद्धा, दीर्घरोगी, एकल महिला, बालबालिका तथा दैनिक ज्यालामजदुरी गर्ने श्रमिकहरूले बसोबाससँगै स्वास्थ्य उपचार, रोजगारी र बालबालिकाको शिक्षासमेत संकटमा परेको बताएका छन्।  

प्रकाशित: २७ असार २०८३ ११:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App