मकवानपुरको भिमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुबाहक ईभी हाइस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ५ः४५ बजे भिमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०८८० नम्बरको ईभी हाइस सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो।
प्राप्त पछिल्लो विवरणअनुसार दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, पाँच पुरुष र दुई बालिका छन्। घाइते हुनेमा दुई बालक र तीन पुरुष रहेका छन्।
यसअघि उद्धार गरिएका तीन जना घाइतेलाई बिहान ७ः४० बजे हेटौँडा अस्पताल पुर्याइएको थियो। घाइतेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव र पाँच वर्षीय सक्षम कुमार यादवको अवस्था सामान्य छ। तीन वर्षीय सुदन यादवको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको समयमा गाडीमा चालकसहित १४ देखि १५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको थियो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको कमान्डमा सात जनाको टोली उद्धारमा खटिएको थियो।
त्यस्तै, सशस्त्र प्रहरी बलबाट १० जना, नेपाली सेनाबाट ११ जना, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा १० जना र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्याङबाट १० जनाको टोली उद्धारमा परिचालित भएको थियो।
दुर्घटनाको कारण र मृतक तथा घाइतेको थप पहिचान खुल्न बाँकी रहेको छ। प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।
प्रकाशित: २६ कार्तिक २०८३ ०८:४७ बिहीबार




