सडक विभागमातहत विभिन्न सडक डिभिजन कार्यालयहरूमा ६० वर्ष कटेका करिब पाँच सय लेन्थ वर्कर (सडक मजदुर) कार्यरत छन्। तीमध्ये केही ८० वर्ष कटेका पनि छन्। उनीहरू लामो समयदेखि करार सेवामा कार्यरत छन्।
सडक विभागका उच्च कर्मचारीहरूको अहिले टाउकोदुखाइ भनेकै ६० वर्ष पुगेका सडक मजदुरहरूलाई कसरी बिदाइ गर्ने भन्ने हो। विभागका महानिर्देशक डा. विजय जैशीका अनुसार सडक विभागमा कार्यरत सडक मजदुरहरूमध्ये करिब एक चौथाइ ६० वर्ष कटिसकेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक मजदुरलाई कसरी बिदाइ गर्ने र के-कति सेवासुविधा दिने भन्ने विषयमा अध्ययन गर्न मन्त्रालयका सहसचिव तथा संघीय सडक सुपरिवेक्षण तथा अनुमगन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानको संयोजकत्वमा एउटा समिति बनाएको छ।
उक्त समितिमा शिवलाल दाहाल र शिवराज अधिकारी सदस्य छन्। सामितिका संयोजक न्यौपानेले उक्त समितिले अझै प्रतिवेदन दिइनसकेको बताए। सडक मजदुरलाई कसरी बिदाइ गर्ने भन्ने विषयमा हाल सबै विकल्पको विषयमा अध्ययन भइरहेको न्यौपानको भनाइ छ।
यता सडक विभागका महानिर्देशक डा. जैशीले ६० वर्ष पूरा गरेका सबै सडक मजदुरलाई अभियानकै रूपमा ६ महिनाभित्र हटाउने नीति विभागले बनाएको बताए।
गत साउन २१ र २२ गते भौतिक पूर्वाधार तथा यातायता मन्त्रालयले गरेको समीक्षात्मक कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक विभागलाई दिएको १९ बुँदे निर्देशनमा ६० वर्ष कटेका सडक मजदुरलाई विस्थापन गर्ने विषयलाई प्राथमिकताका साथ राखिएको छ।
निर्देशनको ११औं बुँदामा सडक मजुदरलाई बिदाइ गर्ने विषय उठाइएको छ। निर्देशनमा भनिएको छ, ‘विभागअन्तर्गत कतिपय कार्यालयहरूले सडक मजदुरलाई बिदाइ गर्ने अभिायन सुरु गरिसकेको अवस्थामा उक्त अभियनबाट शिक्षा लिँदै सकभर सम्बन्धित लेन्थ वर्करबाट नयाँ लेन्थ वर्कर राख्ने वा यिनीहरूको छनोटअनुसारका व्यक्ति दैनिक ज्यालादारीमा राख्ने नीति अवलम्बन गर्ने निर्देशन दिइएको छ।’
सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनसार विगत ३० वर्षदेखि उक्त डिभिजनमा हरिबहादुर बस्नेत सडक मजदुरका रूपमा कार्यरत छन्। हाल उनी ८० वर्ष कटेका छन्। तैपनि उनी काम गरिरहेका छन्।
भण्डारीका अनुसार लेन्थ वर्कर र सुपरभाइजर गरी दुई तहका कर्मचारी डिभिजन कार्यलयमा करारमा कार्यरत छन्। लेन्थ वर्करको तलब महिनाको २४ देखि २५ हजार र सुपरभाइजको २८ हजार रुपैयाँ हुन्छ।
उनीहरूको दैनिक काम भनेको सम्बन्धित सडक डिभिजनमातहतका सडकहरूमा उम्रेको झार उखेल्ने, सडकको वरिपरि किनारा सफा गर्ने तथा सडकलाई चिटिक्क बनाउनेलगायत हुन्छ। सडक डिभिजनले दिएको ज्याकेट उनीहरूले लगाएका हुन्छन्।
काठमाडौं सडक डिभिजनमा मात्र एक सय ६९ जना लेन्थ वर्कर तथा सुपरभाइजर कार्यरत छन्। एउटा सडक मजदुरले प्रत्येक तीन किलोमिटर सडक सफा राख्ने जिम्मा लिएको हुन्छ भने प्रत्येक २० किलोमिटर सडकमा भएगरेका कामको अनुगमन गर्ने जिम्मेवारी एउटा सडक सुपरभाइजरलाई दिइएको हुन्छ।
मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘वर्षौंवर्षदेखि काम गरिरहेका ६०/७० वर्ष कटिसकेका सडक मजदुरहरूलाई एक पैसा पनि नदिई बिदाइ गर्नु भनेको अमानवीय काम हुन्छ। त्यसैले केही सेवासुविधा दिई बिदा गरौं भन्ने हाम्रो भनाइ हो।’
केही सडक डिभिजनहरूले भने ६० वर्ष कटेका कर्मचारीहरूलाई बिदाइ गर्दा सम्बन्धित सडक मजदुरले सिफारिस गरेका आफन्त या साथीलाई त्यस ठाउँमा भर्ना लिने गरेका छन्। यसलाई अन्य कार्यालयहरूले पनि लागु गर्दै लगेका छन्।
प्रकाशित: २५ श्रावण २०८२ १९:३९ आइतबार





