निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलमा बोलाएको छ।
आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको कार्यतालिका निकालेको दुई दिनपछि आयोगले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी छलफलका लागि दलहरुलाई बोलाएको हो।
छलफलका लागि दलहरूलाई असोज ३० गते बोलाइएको आयोगले जनाएको छ।
आफूहरूसँग छलफल नै नगरी आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका दलहरु छलफलमा जाने-नजाने भन्ने अन्योलमा छन्।
नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म निर्वाचनमा सहभागी हुने नहुनेबारे निर्णय गरेका छैनन्।
कांग्रेसका एक नेताले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनका लागि अहिलेसम्म वातावरण बनिनसकेको र निर्वाचन नै नहुने अवस्था आए मुलुक थप संकटमा पर्ने भएकाले आन्तरिक छलफलपछि मात्र निर्णय गर्ने बताए।
उनका अनुसार, दलहरुबीच विघटित प्रतिनिधिसभा नै पुनःस्थापना गरेर अगाडी बढ्नेबारे पनि कुराकानी भइरहेको छ।
प्रकाशित: २२ आश्विन २०८२ १५:०९ बुधबार





