ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) उमेश जोशीले शान्ति सुरक्षा सम्झौताहीन विषय भएको बताउँदै जिल्लाको शान्ति सुरक्षाको अवस्था विगतभन्दा कमजोर हुन नदिई थप अभिवृद्धितर्फ केन्द्रित गर्ने बताएका छन्।
यहाँका नयाँ प्रहरी प्रमुखको कार्यभार सम्हालेपछि बिहीबार ताप्लेजुङका सञ्चारकर्मीसँग आयोजित परिचयात्मक कार्यक्रममा डिएसपी जोशीले जिल्लाका सवालबारे प्रारम्भिक जानकारी लिई ‘एक्सन’ समेत सुरु गरिसकेको बताए।
जोशीले आवश्यकता भन्दा बढी गति भएका सवारीसाधनमाथि निगरानी बढाई आवश्यक कारबाहीसमेत सुरु गरिसकिएको जानकारी दिए। सम्भावित अवाञ्छित गतिविधिलाई ध्यानमा राखी प्रहरी गस्तीमा वृद्धि गरिएको उनको भनाइ थियो।
डिएसपी जोशीले सदरमुकाम फुङलिङको सवारी जामलाई व्यवस्थित गर्न आफूले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको बताए। सवारी पार्किङको समस्या समाधान गर्न कार्ययोजना तयार पारिएको र चाँडै कार्यान्वयनमा ल्याइने उनले बताए।
शान्ति सुरक्षाका चुनौती समाधान गर्न समाजका सदस्यहरूको समेत भूमिका रहने भएकाले यस कार्यमा नागरिकसँग सहकार्यका लागि उनले प्रस्ताव गरेका छन्। सम्भावित अपराधका घटनाबारे समुदायले चाँडै सूचना पाउने भएकाले अपराध नियन्त्रणका लागि सही सूचना दिएर अवाञ्छित गतिविधि नियन्त्रणमा समुदायले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनले बताए।
शान्ति सुरक्षा कायम गर्न तथा अपराधरहित समाज निर्माणका लागि डिएसपी जोशीले प्रहरी–समुदाय साझेदारीको आवश्यकता औंल्याए। उनले शान्ति सुरक्षाका चुनौतीको सामना गर्न आफ्नो सम्पूर्ण शक्ति र विवेक प्रयोग गर्ने बताए।
“पहिलाभन्दा शान्ति सुरक्षाको अवस्था खस्कँदैन, बरु थप सबल बन्छ,” आशा जगाउँदै उनले भने।
प्रहरीले गरेका असल अभ्यास तथा सच्याउनुपर्ने विषयमा खबरदारीका लागि सञ्चारकर्मीबाट आफू र जिल्ला प्रहरी कार्यालयले अपेक्षा राखेको डिएसपी जोशीको भनाइ थियो।
चीन र भारतसँग जोडिएको ताप्लेजुङको भूगोल तथा अन्तरसीमा गतिविधिबारे आफूले नियमित निगरानी गर्ने जोशीले बताए। लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि कडाइका साथ प्रस्तुत हुने बताएका उनले अवैध सवारीसाधनको प्रयोग भएको पाइए त्यसलाई रोक्न सम्पूर्ण सामर्थ्य प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
सञ्चार क्षेत्रलाई आफ्नो निकायले प्रदान गर्ने सूचनामा सहज पहुँच स्थापित गर्ने उनको भनाइ थियो।
डिएसपी बेदप्रसाद गौतमको सरुवा भएपछि गत आइतबार यहाँ आएका डिएसपी जोशीले विपद्का पूर्वतयारी तथा प्रतिकार्यका लागि समुदायसँग नियमित सहकार्य गर्ने समेत बताए।
प्रकाशित: १४ जेष्ठ २०८३ १८:०९ बिहीबार





