धदिङको बेनीघाट रोराङ गाउँपालिका-१० वासिङस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।
बिहीबार साँझ करिब ६:२० बजे सडक माथिबाट एक्कासि ठूलो सुख्खा पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको हो।
पहिरोका कारण काठमाडौं-पोखरा सडकखण्ड र अन्य विभिन्न गन्तव्यतर्फ आवतजावत गर्ने सयौँ सवारीसाधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
घटना लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर पहिरो पन्छाउने तथा अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउने कार्यमा जुटेको छ।
सडक खुलाउन सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी जेसिबी लगायतका उपकरणको प्रयोग गरेर पहिरो हटाउने काम तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले राजमार्ग अवरुद्ध भएपछि सो सडकखण्ड हुँदै यात्रा गर्ने सवारीसाधनहरूलाई सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
साथै, अत्यावश्यक कामबाहेक अहिलेको अवस्थामा यात्रा नगर्न र यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा तय गर्न सर्वसाधारणमा विशेष आग्रह गरिएको छ।

प्रकाशित: ३२ असार २०८३ १९:४० बिहीबार





