२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

दिप्सुङका ४३ परिवारलाई घरघरमा खानेपानी धारा

खानेपानी परियोजना उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष समीर राईलगायत । तस्बिर: महेश्वर

खोटाङको केपिलासगढी गाउँपालिका-६ दिप्सुङ बिसुदुका स्थानीयबासीमा खानेपानीको समस्या हटेको छ।  गाउँका ४३ घरधुरी परिवारले खानेपानीको अभावमा वर्षौँदेखि स्थानीय घण्टौँ टाढा पर्ने खोला र पँधेराबाट गाग्री र जर्किनमा बोकेर पानीको समस्या टार्दै आएका थिए । अब दिप्सुङ र बिसुदुबसीका लागि गाउँपालिकाले ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत धारा जडान गरेसँगै समस्या हटेको हो।

गाउँपालिकाले स्थानीय सङखोलामा मुहान थापेर गाउँलेलाई खानेपानी सुविधा उपलब्ध गराएको हो । मुहानबाट ८ हजार ७ सय ९२ मिटर लामो पाइपलाइन बिछ्याएर सो गाउँमा पानी पुर्‍याइएको ‘दिप्सुङ खानेपानी आयोजना उपभोक्ता समिति’ ले जनाएको छ । समितिका अनुसार पाइपलाइनको विभिन्न ठाउँमा ६/६ वटा पानी सङ्कलन तथा वितरण गर्ने ट्याङ्की निर्माण गरिएको छ ।

सो परियोजनामा जी फोण्डेशन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गाउँपालिकाले निर्माण गरेको हो । परियोजना सम्पन्न भएसँगै बिसुदुका ४३ घरधुरीका २ सय २४ जना उपभोक्ता लाभान्वित भएका छन् । ०८१ पुस १० गते निर्माण सुरु गरेर भर्खरै सम्पन्न परियोजनामा पानी शुद्धीकरण गर्न प्रशोधन ट्याङ्कीसमेत निर्माण गरिएको छ । उपभोक्तालाई खानेपानी उपलब्ध गराएसँगै जी फाउण्डेशनले परियोजना औपचारिक रुपमा गाउँपालिकालाई हस्तान्तरण समेत गरिदिएको छ ।

स्थानीय परियोजना सल्लाहकार समिति अध्यक्ष सङ्गम राईका अनुसार सो खानेपानी परियोजना ५४ लाख ७१ हजार २ सय १० रुपैँया लागतमा निर्माण सम्पन्न भएको हो । परियोजनामा उपभोक्ताले ५ लाख ७६ हजार ४ सय ७२ रुपैँया बराबरको श्रमदान लगानी गरेका छन् भने जी फाउण्डेशनले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक ४८ लाख ९४ हजार ७ सय ३८ रुपैँया लगानी गरेको छ ।

दिप्सुङकै बिन्दुका ५८ घरधुरी स्थानीयका लागि भने यसअघि नै वडा र गाउँपालिकाको लगानीमा घरघरमा धारासहित स्वच्छ खानेपानी उपलब्ध गराइसकिएको वडाध्यक्ष गोपाल राईले बताए । उनका अनुसार आर्थिक वर्ष ०८१/८२ मा वडा र गाउँपालिकाले १५/१५ लाख गरी ३० लाख लगानी गरेर ५८ घर परिवार सबैको घरमा धारा जडान गरी शुद्ध खानेपानी उपलब्ध गराइएको छ ।

केपिलासगढी गाउँपालिकाको ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष जस्तै चालु वर्ष पनि खानेपानी योजना चलाउने कार्यक्रम छ । चालु वर्ष दिप्सुङमा बाँकी सबै घरधुरी परिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष समीर राईले बताएका छन् ।

वडाध्यक्ष राईले दिप्सुङमा २ सय घरधुरी स्थानीयको बसोबास रहेको छ । बाँकी रहेका उपभोक्ताका लागि खानेपानी योजना सञ्चालन गर्न चालु वर्ष वडा कार्यालयले १४ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष राईले बताए । उनका अनुसार दिप्सुङस्थित दिप्रु, शेर्पा गाउँ, खुत्रु, डाँडागाउँ र देवीथानबासी अहिले पनि खानेपानीको समस्यामा छन् ।  

चालु वर्षको बजेटले ती बस्तीबासीलाई खानेपानी उपलब्ध गराउन घरघरमा धारा जडान कार्यक्रम सञ्चालन गर्ने गरी स्थानीय सङखोलामा मुहान थापेर खानेपानी ल्याउने तयारी भइरहेको छ । सो मुहानबाट खुत्रु, डाँडागाउँ र देवीथानमा खानेपानी उपलब्ध हुनेछ । दिप्रु र शेर्पा गाउँका लागि भने छुट्टै मुहान पहिचान गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम भइरहेको वडाध्यक्ष राईले बताएका छन् ।  

प्रकाशित: १३ श्रावण २०८२ १७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App