२२ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

बाढीपीडितका लागि सहयोग गर्ने दाता बढ्दै

भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनः स्थापना गर्न प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग रकम उपलब्ध गराउने दाताको सङ्ख्या बढ्दै गएको छ ।  

भक्तपुरको भक्तपुर नगरपालिकाभित्रबाट प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा रु ७५ लाख ७१ हजार ६७९ सहयोग उपलब्ध गएको छ । नगरपालिकाले बाढी प्रभावितको खोज, उद्धार, तथा पुनःस्थापनाका लागि उक्त रकम जम्मा गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।  

पालिकाले उक्त रकम जनप्रतिनिधि, कर्मचारी र नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज अफ ल र ख्वप अस्पतालले संयुक्त रूपमा मासिक तलवबाट जम्मा गरेका हुन् ।  

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित शुभकामना बहुउद्देश्यीय सहकारी संस्थाले रु एक लाख एक हजार १३० राहत कोषमा जम्मा गरेको छ । तनहुँ सुनचाँदी व्यवसायी सङ्घले राहत कोषमा रु एक लाख ४२ हजार ४०० जम्मा गरेको छ । सङ्घमा आबद्ध व्यवसायीबाट रकम सङ्कलन गरी पीडितको राहत र पुनस्र्थापनाका लागि सहयोग गरिएको सङ्घका अध्यक्ष हरि गहतराजले जानकारी दिए  ।  

यसैगरी, नेपाल दशनामी समाज जिल्ला कार्यसमिति, तनहुँले बाढीपहिरो पीडितहरूको सहयोगार्थ यस वर्ष आयोजना गर्ने तयारी गरिएको महिला दिदीबहिनीहरूको ‘दर खाने कार्यक्रम’ स्थगित गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ६४ हजार ४५५ सहयोग गरेको छ ।  

बाढीका कारण घरबारविहीन बनेका उत्तरी गोरखाका चार घरधुरीलाई गृहमन्त्रालयले राहत उपलब्ध गराएको छ । आइतबार रातिको बाढीमा परी घरबार गुमाएका गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङका चार पीडित परिबारलाई मन्त्रालयले आज हेलिकोप्टरमार्फत राहत लगेर वितरण गरेको हो ।  

स्थानीय नुर्वु ओङ्ग्याल, ओर्गेन छ्योदेन, लाक्पा भुटी र मिङ्मार लामाको परिवारलाई राहत सामग्री वितरण गरेको उक्त सामग्रीहरु लिएर गएका वाङचुक राप्तेन लामाले बताउनुभयो । पीडित परिवारलाई स्लिपिङ ब्याग, म्याट्रेस, कम्बल, सिरानी, त्रिपाल, टेन्ट, सोलार चार्जर लगायतका अत्यावश्यक सामग्रीहरु वितरण गरिएको लामाले जानकारी दिए । बाढीले नाम्रुङस्थित १०० किलोवाट र १५ किलोवाट क्षमताको थेराङखोला लघुजलविद्युत् आयोजना बगाएको छ ।  

साथै, मनास्लु पदमार्गअन्तर्गत सुक्समस्थित बूढीगण्डकीमाथिको झोलुंगे पुल र थेराङखोलाको पुल पनि बगाएको छ । पुल बगाएपछि अर्को सूचना प्रकाशन नभएसम्म पर्यटकहरुलाई मनास्लु पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।  

भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सुर्खेत उद्योग वाणिज्य सङ्घले रु तीन लाख तीन हजार ३३३ सहयोग गरेको छ । उक्त रकम आजै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सङ्घका अध्यक्ष हर्षविक्रम खड्काले जानकारी दिए । विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व बोध गर्दै व्यवसायीबाट रु एक लाख ११ हजार ५७० सङ्घका पदाधिकारी तथा कार्यसमितिबाट रु एक लाख ७५ हजार ७६० र वस्तुगत समितिबाट १६ हजार तीन सङ्कलन गरी कोषमा जम्मा गरिएका उनले बताए । रासस

प्रकाशित: २२ भाद्र २०८३ २१:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App