३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

छाडा कुकुर व्यवस्थापन गर्न 'कुकुर सेल्टर'

बागलुङ नगरपालिकाले सञ्चालनमा ल्याएको कुकुर सेल्टर हाउस। तस्बिरः नागरिक

यहाँको बागलुङ नगरपालिकाले बजारका छाडा कुकुर व्यवस्थापनका लागि कुकुर सेल्टर सञ्चालनमा ल्याएको छ। बजारमा छाडा छोडिएका सामुदायिक कुकुरका कारण मानवीय जीवन जोखिममा पर्न थालेपछि नगरपालिकाले व्यवस्थापन थालेको हो।

‘बागलुङ बजारमा तीन वर्षमा नौ सय जनालाई कुकुरले टोकेको रेकर्ड भेटियो,’ बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठ भन्छन्, ‘हामीले घरपालुवा र सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लगायत धेरै प्रयासहरु गर्‍यौं। पशु अधिकारको विषय भएकाले कुकर मार्न मिल्दैन। गाउँबाट कुकुर बजारमा आउने र त्यसले नागरिकलाई दुःख दिनेक्रम नरोकिएपछि हामी कुकुर सेल्टरको अवधारणामा अगाडि बढेका हौं।’

छाडा कुकुर व्यवस्थापनका लागि नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत कुकुर सेल्टर निर्माणको काम अगाडि बढाएको थियो। तत्कालिन समयमा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमबाट ६५ लाख र बागलुङ नगरपालिकाको ३५ लाख गरी एक करोड रुपैयाँमा सेल्टर निर्माण गर्नेगरी सम्झौता भए पनि जग्गा व्यवस्थापनको ढिलाईले प्रदेशको केही बजेट फ्रिज गएको नगरप्रमुख श्रेष्ठले बताए।  

‘हामील मुख्यमन्त्री कार्यालय र नगरपालिकाको साझेदारीमा एक करोडमा काम सम्पन्न गर्ने भनेर सम्झौता गरेका थियौं, प्रदेश सरकारले दिने ६५ लाख बजेट पनि आएको थियो,’ उनले भने, ‘हामीलाई जग्गा व्यवस्थापन गर्न निकै कठिन भयो। लिजमा जग्गा लिँदा केही ढिलो भएकाले प्रदेश सरकारले दिएको त्यही ३०/३५ लाख जतिको काम गर्न सक्यौं। आधा जति पैसा फ्रिज जान पुग्यो।’

मुख्यमन्त्री कार्यालयको रकम फ्रिज गएपछि बागलुङले नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा रकम थप गरी करिब ६५ लाखको खर्चमा कुकुर सेल्टर निर्माण पूरा गरेको बताए। ‘बागलुङ नगरपालिका-३ गहतेमा जग्गा भाडामा लिएर सेल्टर बनाएका छौं, प्रदेशको बजेट फ्रिज गएपछि हामीले बजेट थप गरेर योजना पूरा गरेका हौं,’ उनले भने। बजारमा छाडा छोडिएका कुकुरले बालबालिका र नागरिकलाई दुःख दिने र कुकुर आफैँ पनि रोगी र प्रताडित हुने गरेकाले दुवैको सुरक्षाका लागि यो कार्य गरिएको उनी बताउँछन्।

‘कुकुरले टोकेपछि रेविज विरुद्धको खोप लगाउनका लागि खर्चिलो पर्दो रहेछ, हामीले धेरै नागरिकको खोपका रकम तिर्ने काय पनि गर्‍यौं,’ उनी भन्छन्, ‘कुकुरले दुई पाङ्ग्रे सवारीलाई पछ्याउँदा दुर्घटनाहरू पनि धेरै भए। सडकमा भएका कुकुरले पनि धेरै दुःख पाए। रोगी हुने, मान्छेले कुटेर घाईते बनाउने जस्ता समस्यमा भयो। नागरिक र कुकुर दुवैको सुरक्षाका लागि यो विकल्पमा अगाडि बढेका छौं।’ कुकुर होस्टेलमा ७० वटा केज तयार भएको श्रेष्ठले बताए।  

‘सेल्टरमा खाना पकाउने, ख्वाउने, कुकुरलाई नुहाइदिने र खेल्ने ठाउँको समेत प्रवन्ध गरिएको छ, कर्मचारी बस्ने, सौचालय बारुम सबैको व्यवस्थापन गरेका छौं,’ उनले भने। अहिले १७ वटा कुकुर राखेर सेल्टर हाउसको सञ्चालन प्रारम्भ गरेको बागलुङ नगर पशु विकास शाखा प्रमुख मित्रलाल सापकोटाले बताए।  

‘अहिले १७ वटा कुकुर राखेर सेल्टर सुरु गरेका छौं,’ उनी भन्छन्, ‘बजारमा त कुकुर धेरै छन्। सबै कुकुर एकै पटक लैजादा व्यवस्थापनको समस्या हुने र उनीहरू मिलेर बस्नका लागि पनि समय लाग्ने भएकाले टोल टोलबाट बढी आक्रामक र नागरिकलाई दुःख दिने खालका, आफैँ बिरामी भएका कुकुरलाई प्राथमिकता साथ पहिले समातेर सेल्टरमा राखेका छौं।’ समुदायको सल्लाह र सहयोगमा सबैभन्दा बढि दुःख दिने कुकुरहरू पहिले सेल्टरमा लगिएको उनको भनाइ छ।

दिनको दुई समय कुकुरलाई गुणस्तरीय खाना खुवाएर राखेको उनले बताए। ‘कुकुरका स्वभाव अनुसार जतिबेलै खाने भन्ने हुँदो रहेनछ, हामीले बिहान बेलुका दुई छाक पेटभरी खुवाउँछौं,’ सापकोटा भन्छन्, ‘दूधको ठेक्का नै लगाएर दूधभात खुवाउने गरेका छौं। बीच बीचमा मासु पनि खुवाउँछौं। कुकुरका लागि आवश्यक पर्ने पोषकतत्व कम नहुनेगरी मासु कम गरेर शाकाहारी खानामा जोड गर्न थालेका छौं।’

कुकुरको खानपान र खेल्न बस्नका लागि प्रसस्त पुग्ने ठाउँको व्यवस्थापन मिलाएको उनले बताए। कुकुरको हेरचाहका लागि एउटा परिवारलाई कर्मचारीको रूपमा जिम्मा दिइएको छ। ‘कुकुरको स्याहार गर्ने भएपछि जो कोहीले गर्न सक्ने कुरो भएन, कुकुरलाई माया गर्ने र अभुनवी व्यक्तिलाई परिवार सहित त्यहाँ बसेर कुकुरको खानपानमा ध्यान दिने जिम्मा दिएर कर्मचारीको रूपमा राखेका छौं,’ उनले भने।  

बागलुङ नगरपालिकाले नगर क्षेत्रमा घरमा पाल्ने कुकुरलाई अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ। निश्चित शुल्क लिएर कुकुर दर्ता गर्ने र त्यसका लागि आवश्यक खोप तथा औषधी नगरपालिकाले उपलब्ध गराउने गर्दै आएको छ। ‘दर्ता गरिएका कुकुरलाई नगरले खोप र औषधि सेवा निःशुल्क दिन्छ। मृत्यु भएमा शव व्यवस्थापन पनि नगरपालिकाले नै गर्छ,’ सापकोटाले भने। रेविजलगायतका संक्रामक प्राणघातक रोग कुकुरको टोकाइबाट सर्ने भएकाले सचेत हुनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

स्थानीय चन्द्र रेग्मीले नगरपालिकाले कुकुरको सेल्टर बनाएर निकै राम्रो काम गरेको बताए। ‘चोक चोकमा कुकुरले हैरान पार्थ्यो,’ स्वास्थ्यकर्मी समेत रहेका रेग्मी भन्छन्, ‘कुकुरले टोकेर रेविजको खोप लगाउन आउनेहरू धेरै थिए। अहिले विस्तारै कम हुँदै गएको छ। मान्छेलाई झम्टिने कुकुरलाई नगरपालिकाले सेल्टरमा लगेर राम्रो गरेको छ।’

यस्तो अवस्थामा नागरिकले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने उनी बताउँछन्। ‘कुकुर पाल्ने त नागरिकले हो, तर अलि बुढो भएपछि सडकमा छाडिदिने, घरबाट लखेट्ने गरेका कारण छाडा भएर टोक्ने भएका छन्। कुकुर पाल्नेले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्छ। जथाभावी कुकुर छाडा छोड्नुहुन्न,’ उनले भने।

प्रकाशित: ३१ जेष्ठ २०८३ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App