चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वर्षौंदेखि त्रास फैलाउँदै आएको जङ्गली हात्ती ‘धुर्वे’ दाह्रा काटिएपछि हाल निकुञ्जभित्रै सीमित रहेको छ। गत असार ३१ गते जनधनको क्षति पुर्याएपछि नियन्त्रणमा लिइएको धुर्वेको दुवै दाह्रा काटिनुका साथै शरीरमा नयाँ ‘रेडियो कलर’ जडान गरिएको थियो।
निकुञ्जका संरक्षण अधिकृत प्रवीण पौडेलका अनुसार त्यसयता धुर्वे निकुञ्जभित्रै बस्दै आएको छ। आइतबार बिहान भने माडीस्थित अमेलिया कृषि फर्मसम्म पुगेको स्थानीयले जानकारी दिएका छन्। उक्त क्षेत्र निकुञ्जसँग जोडिएको रिउखोलाको किनारमा पर्ने भए पनि त्यसबाहेक धुर्वे बस्तीमा प्रवेश नगरेको निकुञ्जले जनाएको छ।
धुर्वेको गतिविधि अहिले हरेक १०/१० मिनेटमा ‘रेडियो कलर’मार्फत निगरानी भइरहेको छ। निकुञ्ज प्रशासन र नेपाली सेनाको ‘अप्रेसन युनिट’ले हात्तीको अवस्थाबारे निरन्तर सूचना संकलन गर्दै बस्ती नजिक पुगेको अवस्थामा स्थानीयलाई तत्काल जानकारी गराउने व्यवस्था मिलाएको छ।
संरक्षण अधिकृत पौडेलले धुर्वे कुनै पनि बेला बस्ती पस्न सक्ने भएकाले उच्च सतर्कता अपनाइएको बताए। डार्ट गरेर नियन्त्रणमा लिँदा प्रयोग गरिएको औषधिका कारण केही समय हात्ती शिथिल देखिए पनि त्यसको व्यवहार पूर्ण रूपमा अनुमान गर्न नसकिने भएकाले निगरानीलाई थप कडा बनाइएको उनले स्पष्ट पारे।
हालसम्म २५ जनाको ज्यान लिएको धुर्वे हात्तीको यो चौथो पटक दाह्रा काटेर रेडियो कलर जडान गरिएको हो। बस्तीमा प्रवेश गरेको सूचना प्राप्त हुनासाथ मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय तथा स्थानीय टोललाई खबर गर्ने र सुरक्षा टोली तत्काल परिचालन गरी हात्तीलाई निकुञ्जतर्फ फर्काउने तयारी गरिएको निकुञ्ज प्रशासनले जनाएको छ।
गत असार २० गते राति धुर्वेको आक्रमणबाट एकै परिवारका दुई जनाको ज्यान गएको थियो। त्यसपछि पुनः यस्ता घटना दोहोरिन नदिन उच्च सतर्कता अपनाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए। उनका अनुसार बथानबाट अलग परेपछि धुर्वे बस्तीतिर आउन थालेको अनुमान गरिएको छ। पहिले बथानसँगै हिँड्ने माडीको धोवा, तमोरताल, खोरियामुहान र देउराली क्षेत्रमा अहिले पनि यसको आवतजावत हुने गरेको छ।
धुर्वेले विसं २०७४ मा एक सेनानीको समेत ज्यान लिएको थियो। निकुञ्ज क्षेत्रमा सबैभन्दा बढी मानवीय क्षति गराउने हात्तीका रूपमा चिनिएको धुर्वेले विसं २०६८/६९ तिर लगातार मानिस मार्न थालेपछि विसं २०६९ पुस १ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले यसलाई मार्ने निर्णयसमेत गरेको थियो। तर, सेनाको प्रयासका बाबजुद धुर्वे नियन्त्रणबाहिर रहँदै आएको थियो।
विशेषगरी २०६९ सालको कात्तिकदेखि एक महिनाभित्र माडीमा मात्रै चार जनाको ज्यान लिएपछि धुर्वेलाई मार्ने निर्णय गरिएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा धुर्वेसहित रोनाल्डो र गोविन्दे जस्ता मत्ता हात्ती छन्। निकुञ्जका अनुसार हाल निकुञ्जभित्र करिब ४५ देखि ५० वटा जङ्गली हात्ती रहेका छन्, जसबाट प्राकृतिक प्रजनन प्रक्रिया पनि सञ्चालन हुँदै आएको छ। रासस
प्रकाशित: १८ श्रावण २०८३ १६:२३ सोमबार





