२१ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

बाढीपीडितलाई धुलिखेल अस्पतालमा वर्षभरि निःशुल्क उपचार

भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित बनेका परिवारलाई धुलिखेल अस्पतालले मानवीय राहतको घोषणा गरेको छ।

अस्पतालले बाढी प्रभावित परिवारका सबै सदस्यलाई आगामी एक वर्षसम्म सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो।

शुक्रबार विज्ञप्ति जारी गर्दै अस्पतालले प्राकृतिक विपत्तिपछि नागरिकले स्वास्थ्य समस्याका साथै चर्को आर्थिक संकट झेल्नुपर्ने अवस्थालाई ध्यानमा राखेर यस्तो निर्णय लिइएको बताएको छ।

गत भदौ १० गते भोटेकोसी नदीमा उर्लिएको बाढीले तटीय क्षेत्रका बस्तीहरूमा ठूलो क्षति पुर्‍याएको थियो। विपद्‌मा परेका परिवारका सदस्यले यो निःशुल्क उपचार सेवा प्राप्त गर्ने कार्यविधि, आवश्यक कागजात तथा प्रक्रियासम्बन्धी विस्तृत जानकारी अस्पतालले छिट्टै सार्वजनिक गर्ने जनाएको छ।

बाढीपछि प्रभावित बस्तीहरूमा स्वास्थ्यसम्बन्धी जटिलता र महामारीको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै अस्पतालले प्रभावित क्षेत्रमै पुगेर स्वास्थ्य कार्यक्रम सञ्चालन तथा सहकार्य गर्ने तयारीसमेत थालेको छ।

बाढीबाट प्रभावित नागरिकहरूप्रति समवेदना व्यक्त गर्दै धुलिखेल अस्पतालले सङ्कटको यस घडीमा समुदायको स्वास्थ्य रक्षा, पुनःस्थापना तथा पुनःनिर्माणका लागि निरन्तर साथ र सहयोग दिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: २१ भाद्र २०८३ १६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App