लुम्बिनी विकास कोषले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि पूर्ण रूपमा सुरक्षित र खुला रहेको जनाएको छ।
कोषले सूचना जारी गर्दै हालै आएको बाढी तथा विपद्का कारण लुम्बिनी क्षेत्रमा कुनै असर नपरेको स्पष्ट पारेको हो। कोषका निमित्त प्रशासनिक प्रमुख तथा वरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीद्वारा जारी सूचनामा तीर्थयात्री, पर्यटक, आगन्तुक तथा ट्राभल पार्टनरहरूलाई ढुक्क भएर लुम्बिनी तथा अन्य बुद्धस्थलको भ्रमण गर्न आग्रह गरिएको छ।
‘हालैको बाढीले बृहत्तर लुम्बिनी क्षेत्रमा कुनै असर पु¥याएको छैन। लुम्बिनी, कपिलवस्तु, देवदह, रामग्राम तथा अन्य प्रमुख पर्यटकीय गन्तव्यहरू सुरक्षित र आगन्तुकहरूका लागि सहज रूपमा पहुँचयोग्य रहेका छन्,’ सूचनामा भनिएको छ।
कोषले समग्र नेपाल नै अहिले भ्रमणका लागि सुरक्षित रहेको जनाएको छ। प्रमुख पर्यटकीय गन्तव्य, सांस्कृतिक सम्पदा स्थल, तीर्थस्थल तथा पर्यटन सेवाहरू सामान्य रूपमा सञ्चालनमा रहेको कोषको भनाइ छ।
आवश्यक स्थानमा स्थानीय यात्रा अपडेट र मार्गदर्शन पालना गर्दै पर्यटक तथा तीर्थयात्रीले आफ्नो यात्रा योजना आत्मविश्वासका साथ अघि बढाउन सक्ने कोषले जनाएको छ। पछिल्लो विपद्का कारण नेपाल भ्रमणबारे उत्पन्न हुन सक्ने भ्रम हटाउन र पर्यटकलाई यात्रा निरन्तरता दिन प्रोत्साहित गर्ने उद्देश्यले कोषले यस्तो जानकारी सार्वजनिक गरेको हो।
प्रकाशित: १९ भाद्र २०८३ १७:४७ शुक्रबार





