गत आर्थिक वर्षमा कञ्चनजङ्घा संरक्षण क्षेत्र (केसीए) कार्यालयले जंगली जनावरबाट पशुचौपाया तथा अन्नबालीमा भएको क्षतिवापत सम्बन्धित किसानलाई १० लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरेको छ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत प्रमोदकुमार यादवका अनुसार पशुधनमा भएको क्षतिवापत ८ लाख ४२ हजार रुपैयाँ र अन्नबालीमा भएको क्षतिवापत १ लाख ५८ हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको हो।
संरक्षण अधिकृत यादवका अनुसार हिमचितुवाले २८ वटा पशुचौपायामा क्षति पुर्याएको थियो। उक्त क्षतिवापत पशुधनीलाई ३ लाख ७३ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको छ।
त्यस्तै, जंगली कुकुरले ३७ वटा पशुचौपायामा क्षति पुर्याएकाले सम्बन्धित पशुधनीलाई ३ लाख १२ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको संरक्षण अधिकृत यादवले जानकारी दिए।
यस्तै, ध्वाँसे चितुवाले १५ वटा पशुमा क्षति पुर्याएवापत ९९ हजार रुपैयाँ तथा ब्वाँसोले ४ वटा पशुमा क्षति पुर्याएवापत ५७ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको उनले बताए।
उता, भालुले १९ जना किसान र आसामी बाँदरले १० जना किसानको अन्नबालीमा क्षति पुर्याएका छन्। भालुले गरेको क्षतिवापत सम्बन्धित किसानलाई ८४ हजार रुपैयाँ तथा आसामी बाँदरले पुर्याएको क्षतिवापत ७४ हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ।
प्रकाशित: ८ श्रावण २०८३ १३:४७ शुक्रबार





