राष्ट्रिय दलित आयोगले सिंहदरबारभित्रै संकीर्ण जातीय सोच कायम रहेका कारण दलित समुदायको थर सूचीकरण प्रक्रिया सरकारी तहबाटै अल्झाइएको आरोप लगाएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष देवराज विश्वकर्माले पटक–पटक सिफारिस गर्दा पनि समयमै सूचीकरण हुन नसक्नुमा प्रशासनिक संयन्त्रभित्रको जातीय दृष्टिकोण बाधक रहेको टिप्पणी गरे।
आयोगका सचिव झनककुमार खत्रीका अनुसार २०७७ सालदेखि नै थर सूचीकरणलाई प्राथमिकतामा राखेर निरन्तर गृहकार्य भइरहेको छ। आयोगले हालसम्म सरकारलाई सात पटकसम्म यस विषयमा औपचारिक सिफारिस पठाइसकेको छ।
सुरुमा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको यो विषय हाल महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय मातहत पुगेकाले नयाँ सरकारले छिट्टै निर्णय गर्ने अपेक्षा आयोगले राखेको छ।
चालु आर्थिक वर्षमा ६२ उजुरी : ११ वटा दलित हत्या र मृत्युसम्बन्धी
पत्रकार सम्मेलनमा सार्वजनिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/२०८३ मा आयोगमा ६२ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये ३८ वटा जातीय विभेद तथा कुटपिटजन्य, ११ वटा शङ्कास्पद हत्या तथा मृत्युसम्बन्धी, ६ वटा अन्तरजातीय विवाह तथा प्रेम र ७ वटा अन्य प्रकृतिका उजुरी छन्।
अध्यक्ष विश्वकर्माले ११ वटा अस्वाभाविक मृत्यु र हत्याका घटनालाई आयोगले गम्भीरतापूर्वक अध्ययन गरिरहेको र मुद्दाहरू कानुनी प्रक्रियामा रहेको जानकारी दिए।
आयोगले दलित समुदायविरुद्ध हुने घटना र उजुरीलाई तत्कालै सुनुवाइ गर्न ‘अनलाइन उजुरी दर्ता मोबाइल एप’ निर्माण गरी छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको छ। यस एपमार्फत पीडितले सहजै जहाँसुकैबाट उजुरी दर्ता गर्न सक्नेछन्।
आयोगका सदस्य मेहल पार्कीले संविधान संशोधनका लागि दलित समुदायका अधिकार सुदृढ बनाउने विस्तृत सुझावहरू सरकारलाई पठाइसकिएको बताए।
उनले दीपा नेपालीको सत्याग्रह प्रकरणमा आयोगले प्रारम्भदेखि नै प्रहरीसँग समन्वय गरी कानुनी प्रक्रियामा सहयोग पुर्याएको र हाल मुद्दा अदालतमा विचाराधीन रहेको जानकारी दिए।
यस्तै, आयोग गठन भएपछि दलित समुदायसँग जोडिएका विभेद र हिंसाका घटनामा ५० प्रतिशतले कमी आएको दाबी आयोगले गरेको छ।
आयोगकी सदस्य मीन सोवले यस अवधिमा प्रहरीका दलित डेस्कहरूलाई अभिमुखीकरण गराइएको र स्थानीय तहहरूमा स्थलगत अनुगमन तीव्र पारिएको बताइन्। आयोगका पदाधिकारीहरूले जातीय विभेद पूर्ण रूपमा अन्त्य नभएसम्म आयोगको औचित्य कायम रहने बताए।
प्रकाशित: २२ असार २०८३ २०:४८ सोमबार





