८ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

बंगालको खाडीमा विकसित हुँदै चक्रवाती आँधी, नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने पूर्वानुमान

बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् । मौसम पूर्वानुमानअनुसार आगामी बुधबारदेखि आइतबारसम्मको अवधिमा केही स्थानमा कुल वर्षा २०० मिलिमिटरभन्दा बढी हुन सक्ने सम्भावना छ । यद्यपि, वर्षाको वास्तविक मात्रा, समय र प्रभावित क्षेत्रबारे अहिले नै निश्चित आकलन गर्न सकिने अवस्था छैन ।

मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमार्फत आगामी साताको मौसमी अवस्थाबारे सचेत गराउँदै केही स्थानमा पाँच दिनको अवधिमा २०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने प्रारम्भिक संकेत देखिएको बताएका छन् । उनका अनुसार यो एकै दिनमा २०० मिलिमिटर वर्षा हुने पूर्वानुमान नभई उक्त अवधिमा जम्मा हुन सक्ने वर्षाको अनुमान हो ।

वर्षाको प्रभाव यसको मात्रा, अवधि, स्थान र स्थानीय मौसमी अवस्थामाथि निर्भर रहने उल्लेख गर्दै पोखरेलले अहिलेको समयलाई विशेष संवेदनशील मानेका छन् । नेपालमा धान काट्ने समय चलिरहेको र उच्च हिमाली क्षेत्रमा पर्यटक तथा पदयात्रीको आवागमन बढ्ने भएकाले सम्भावित प्रतिकूल मौसमले कृषि, जनजीवन र पर्यटन क्षेत्रमा असर पार्न सक्ने उनको भनाइ छ ।

उनले उच्च हिमाली क्षेत्रमा भारी हिमपात, अत्यधिक चिसो र हिमपहिरोको जोखिमसमेत बढ्न सक्ने चेतावनी दिएका छन् । मौसमको पछिल्लो अवस्था र आधिकारिक सूचनाबारे जानकारी लिएर मात्र यात्रा योजना बनाउन उनले आग्रह गरेका छन् ।

सन् २०१४ को हिमआँधीसँग मिल्दोजुल्दो मौसमी संकेत

मौसमविद् पोखरेलले अहिले विकसित भइरहेको मौसमी प्रणालीले सन् २०१४ अक्टोबर १४ मा नेपालमा आएको विनाशकारी हिमआँधीको अवस्थालाई समेत सम्झाएको बताएका छन् ।

चक्रवातसँग सम्बन्धित उक्त घटनामा अन्नपूर्ण क्षेत्र आसपासका पदयात्रा मार्गमा ४३ जनाले ज्यान गुमाएका थिए । अहिलेको मौसम पूर्वानुमानमा त्यसबेला देखिएका केही मौसमी सूचकसँग मिल्दोजुल्दो अवस्था देखिएको उनको भनाइ छ ।

यद्यपि, यसपटक पनि त्यस्तै विपद् दोहोरिन्छ भन्ने निष्कर्ष निकाल्न नमिल्ने उनले स्पष्ट पारेका छन् । समयमै सतर्कता अपनाएर आवश्यक तयारी गर्न सके सम्भावित जोखिम न्यूनीकरण गर्न सकिने उनको अपेक्षा छ ।

बंगालको खाडीमा विकसित हुने न्यून चापीय प्रणाली नेपालतर्फ नजिकिँदै माथिल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीसँग अन्तरक्रिया गरेमा भारी वर्षाको सम्भावना बढ्न सक्ने पोखरेलले बताएका छन् ।

सोमबारसम्म चक्रवाती आँधी बन्न सक्ने अनुमान

बंगालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीसँगै नेपालमा वर्षा गराउन सक्ने अर्को मौसमी अवस्था पनि विकसित हुन थालेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान ५:४५ बजे बंगालको खाडीको पूर्वमध्य भाग तथा आसपासको दक्षिणपूर्वी क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको थियो । उक्त प्रणाली क्रमशः शक्तिशाली हुँदै सोमबारसम्म चक्रवाती आँधीमा विकसित हुन सक्ने विभागको अनुमान छ ।

चक्रवाती आँधीमा विकसित भएपछि यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाको आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छ ।

विभागका अनुसार उक्त मौसमी प्रणालीको प्रभाव आगामी बुधबार (अक्टोबर २८) देखि आइतबार (नोभेम्बर १) सम्म नेपालमा पर्न सक्छ । यस अवधिमा देशका विभिन्न भागमा वर्षा गराउने मौसमी गतिविधि बढ्न सक्ने अनुमान गरिएको छ ।

वर्षाको मात्रा र जोखिमबारे अझै अन्योल

विभागले चक्रवाती आँधीको प्रभावले नेपालमा कति वर्षा हुन्छ, जोखिमको स्तर कस्तो रहन्छ र कुन क्षेत्रमा कस्तो प्रभाव पर्छ भन्ने विषय अहिले नै निश्चित गर्न नसकिने जनाएको छ ।

तर सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सम्बन्धित सबै पक्षलाई सतर्क रहन विभागले अनुरोध गरेको छ ।

यसैबीच, आगामी एक सातामा नेपालका विभिन्न भागमा अधिकतम र न्यूनतम तापक्रमसमेत सामान्य रूपमा घट्न सक्ने पूर्वानुमान गरिएको छ ।

प्रकाशित: ७ कार्तिक २०८३ १४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App