२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

हाङदेवा खोलामा मोटरेबल पुल निर्माण सुरु, ३ करोड ६१ लाखको लागतमा दुई वर्षभित्र सम्पन्न हुने

ताप्लेजुङको फुङलिङ नगरपालिका–९ र १० जोड्ने हाङदेवा खोलामाथि मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ। शुक्रबार आयोजित कार्यक्रममा कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्वोले पुलको शिलान्यास गरेका हुन्।

पूर्वाधार विकास कार्यालय ताप्लेजुङका अनुसार ३ करोड ६१ लाख ४३ हजार १०८ रुपैयाँ ९६ पैसाको लागतमा निर्माण हुने पुलको ठेक्का रामचन्द्र–अरुण प्रमाण जेभीले पाएको छ। निर्माण कम्पनीसँग २०८४ चैत ८ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको कार्यालय प्रमुख तथा सिडिई कुमार किसलय कर्णले जानकारी दिए।

२५.६५ मिटर लम्बाइको उक्त पुल निर्माणपछि फुङलिङ नगरपालिकाका वडा नम्बर ९ र १० बीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ। साथै, फक्ताङलुङ गाउँपालिकासहित जिल्लाको उत्तरी क्षेत्रको यातायात पहुँचमा समेत सुधार आउने विश्वास गरिएको छ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य मेन्याङ्वोले पुलले स्थानीय तहबीचको सम्पर्क मात्र नभई उत्तरी सीमावर्ती क्षेत्रको विकास र यातायात विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार नेपाल–चीन सीमास्थित टिपतालासम्म पुग्ने मार्गका रूपमा पनि यो पुल रणनीतिक रूपमा महत्वपूर्ण रहनेछ।

शिलान्यास कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, जिल्ला समन्वय समिति सदस्य भूपाल मादेन, वडा नं. ९ का वडाध्यक्ष लक्षुमन गुरुङलगायत जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

प्रकाशित: १ श्रावण २०८३ १९:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App