५ मंसिर २०८३ शनिबार
image/svg+xml
समाज

दुई वर्षदेखि अलपत्र पुलको निर्माण सुरु, श्रेय लिन राजनीतिक दलबिच हानथाप

मदन भण्डारी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका-८ स्थित तीनढ्वाङ्गे खहरे खोलामा पुल भत्किएको दुई वर्षपछि नयाँ पुल निर्माण कार्य सुरु भएको छ।

त्यति लामो समयपछि अघि बढाइएको पुल निर्माण कार्यको केही राजनीतिक दल र व्यक्तिले अहिले आफ्नो पहलमा काम अघि बढेको भनी श्रेय लिन हानथाप गरेको देख्दा स्थानीय भने चकित परेको पाइएको छ।

स्थानीय बुद्धमाया मगरले केही राजनीतिक दल र व्यक्ति आफ्नो पहलमा नयाँ पुल बन्न लागेको भनी प्रचार गर्नु उचित नभएको प्रतिक्रिया दिइन्। विगतमा त्यहाँ पुल नहुँदा खोला वारपार गर्न निकै कठिन हुने गरेको घटना स्मरण गराउँदै उनले पुल नबन्दा एक जना लडेर मृत्यु भएको र केही घाइतेसमेत भएको घटना सुनाइन्।

उक्त स्थानमा लामो समयदेखि पुल नहुँदा सास्ती खेप्दै आएका स्थानीय निर्माणको काम सुरु हुँदा मात्र पनि आफूहरूमा खुसियाली छाएको प्रतिक्रिया दिएको पाइएको छ। धरान उपमहानगरपालिका-८ विकास संस्थाका अध्यक्ष सुभास श्रेष्ठले पुल भत्किएको तीन वर्षपछि निर्माण सुरु भएपछि अब भने बन्ने आशा पलाएको बताए।

स्थानीय, पालिका सरकार र प्रदेश सरकारको पहलमा संघीय सरकारले बजेट विनियोजन गरेपछि पुल निर्माणको काम अघि बढेको हो। पुल निर्माणको ठेक्का पाएको श्री ओम सुजल जेभीले सम्झौताअनुसार शुक्रबारदेखि काम सुरु गरेको छ। कम्पनीका साइट इन्जिनियर रामबाबु शाहले पुलको फाउन्डेसन खन्न सुरु भएको जनाउँदै मौसमले साथ दिए आगामी नौ महिनाभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

मदन भण्डारी राजमार्ग निर्माण आयोजनाका इन्जिनियर घनश्याम खड्काका अनुसार १५ मिटर लम्बाइको उक्त पुलका लागि रु छ करोड तीन लाख सात हजारमा सम्झौता भएको हो। यसअघि विसं २०८० चैतमा निर्माण भएको उक्त पुल विसं २०८१ साउन २२ गते राति बाढीबाट भत्किएको थियो। त्यसलगत्तैदेखि नयाँ पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी जोखिम मोलेर आवतजावत गर्न बाध्य थिए।

भएका स्थानीय लीलामाया तामाङका अनुसार सो पुल समयमा नबन्दा स्थानीय राम सुनुवारको उक्त स्थानबाट लडेर मृत्यु भयो भने मोटरसाइकल, स्कुटर र सिटी सफारी दुर्घटना हुँदा हालसम्म १५ जनाभन्दा बढी घाइते भइसकेका छन्। पछिल्लो समय धरान बजारको फोहोर पानी यही खहरेमा मिसिने गरेको छ।

चुनावका बेला उक्त पुल निर्माणका लागि विभिन्न राजनीतिक दल र उम्मेदवारले आश्वासन दिई भोट मागे पनि निर्वाचित भएपछि खासै चासो नदिएपछि स्थानीय आक्रोशित भएको घटना सुनाउँदै तामाङ भन्छिन्, ‘बच्चा, वृद्ध र बिरामी लिएर हिँड्दा निकै जोखिम हुन्छ। कहिले बन्ला भन्ने आशामा थियौँ। बल्ल निर्माण सुरु भयो, खुसी लागेको छ।’

विसं २०१७ मा तत्कालीन ब्रिटिस घोपा क्याम्पसम्म आवतजावत सहज बनाउन निर्माण गरिएको पुल मदन भण्डारी राजमार्ग विस्तारका क्रममा नयाँ पुल नबनाई पुरानै पुलमाथि कालोपत्र गरिएकाले संरचना कमजोर भई भत्किएको थियो।

पुल समयमा निर्माण नहुँदा वर्षायाममा खोलामा आउने बाढीका कारण आसपासका २०० भन्दा बढी घर बाढी तथा कटानको जोखिममा रहेको पाइएको छ। रासस

प्रकाशित: ५ मंसिर २०८३ १८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App