‘पहिले त खानेपानीको एकदमै समस्या थियो, दिनमा दुई तीन गाग्री पानीले पुर्याउनुपर्थ्यो। सुक्खा समयमा त हाहाकार नै हुन्थ्यो। दुई तीन घण्टा हिँडेर पानी ल्याउनुपर्थ्यो। अहिले कादुरीले पानी ल्याइदिएपछि त हामीलाई धेरै सजिलो भएको छ,’ ढोरपाटन नगरपालिका-४ की कमलाछवि विकले विगत सम्झँदै भनिन्। उनी भन्छिन्, ‘अहिले त खानेपानी र वस्तु भाउका लागि खुवाउन पनि सजिलो भयो। तरकारीमा लगाउन पनि पुग्ने भएको छ। अब पानी गाग्रीमा भरेर राख्नु पनि पर्दैन। सिधै धारोबाट किचनमा पुग्छ।’
अहिले घर घरमा खानेपानीको धारो पुगेपछि कमला दङ्ग छिन्। ‘पहिले त लाइनमा बसेर पानी भर्नुपर्थ्यो। पानी नपुगेर पालो नआउने झगडा हुने गर्थ्यो,’ कमलाले विगत स्मरण गरिन्, ‘हाम्रो यहाँ त नजिकमा कुवा पनि थिएन। यसरी घर घरमै पानीको धारो आउला भन्ने त सोचेका पनि थिएनौँ।’ कादुरी एग्रीकल्चरल एड एसोसिएसन, ब्रिटिस गोर्खाज नेपालको सहयोगमा ढोरपाटन नगरपालिका वडा नम्बर ४ का तीन सय ६१ घरधुरीमा एक घर एक धारा पुर्याएको वडाध्यक्ष तिलक पुन बताउँछन्।
‘यहाँको मुख्यगरी तीन वटा बस्ती रहेको गाउँ खुँगा, सोरबाङ र किरीका नागरिकलाई समेट्ने गरी कादुरीको आर्थिक र प्राविधिक सहयोगमा खुँगा, सोरबाङ र किरी खानेपानी योजना सम्पन्न भएपछि खानेपानीको सहज पहुँच पुगेको छ,’ वडाध्यक्ष पुनले भने, ‘तीन सय ६१ घरधुरीसँगै विद्यालयमा बालमैत्री धारो र दुई वटा विद्यालयमा शौचालय समेत कादुरीको सहयोगमा निर्माण भएको छ।’ खानेपानी योजना क्षेत्रभित्र पर्ने सोरबाङ आधारभूत विद्यालय र दीपक आधारभूत विद्यालयको शौचालय पनि कादुरीले निर्माण गरिदिएको उनको भनाइ छ।
खानेपानी योजना निर्माणका लागि कादुरीबाट तीन करोड ३३ लाख ९४ हजार दुई सय ५३ रुपैयाँ ८३ पैसा र ११ प्रतिशत जनश्रमदानबाट गरी ४२ लाख सात सय रुपैयाँ गरी कुल तीन करोड ७५ लाख ९४ हजार ९ सय ५३ रुपैयाँ ८४ पैसाको लागतमा योजना सम्पन्न भएको अध्यक्ष पुनले जानकारी दिए। वडाध्यक्ष पुनका अनुसार दुई वटा आधारभूत विद्यालयको शौचालय निर्माणका लागि छुट्टै बजेट खर्च भएको छ। ‘सोरबाङ आधारभूत विद्यालयमा निर्माण गरिएको शौचालयमा ११ लाख ९२ हजार छ सय ४४ रुपैयाँ ११ पैसा र दीपक आधारभूत विद्यालयको शौचालय निर्माणका लागि १३ लाख सात सय ७७ रुपैयाँ ०१ पैसा खर्च भएको छ,’ उनले भने।
२०८१ सालको वैशाखमा विस्तृत सर्वेक्षण गरेर २०८२ कात्तिक १३ गतेबाट निर्माण सुरु भएको योजना २०८३ वैशाख २६ गते निर्माण सम्पन्न भएको हो। यो योजना सम्पन्न भएपछि खुँगा, सोरबाङ र किरीका नागरिकको वर्षौँदेखिको खानेपानी समस्या समाधान भएको छ। योजना निर्माण सम्पन्न भएपछि यही जेठ २७ गते उद्घाटन गरिएको वडाध्यक्ष पुनले बताए।
खानेपानी योजनाको नेपाल सरकारका रक्षा सचिव एवं ब्रिगेड गोर्खा वेलफेयर कोअर्डिनेसन कमिटी (बिजीडब्ल्युसीसी) अध्यक्ष केदारनाथ पौडेल, रक्षा सहसचिव ज्ञानेन्द्र पौडेल र ब्रिटिस गोर्खाज नेपाल (बिजिएन) कमाण्डर गोर्खाज वेलफेयर ट्रस्टका डाइरेक्टर तथा काठमाडौँस्थित बेलायती दूतावासका मिलिट्री एट्याची कर्णेल ड्यान रेक्सले संयुक्त उद्घाटन गरेका थिए। ‘रक्षा सचिव, सहसचिव र गोर्खाज वेलफेयर ट्रस्टका डाइरेक्टर उनीहरू तीन जनाले संयुक्त रूपमा उद्घाटन गरे, कादुरी एड एग्रीकल्चरल एसोसिएसन ब्रिटिस गोर्खाज नेपाल (केएएए, बिजिएन) पोखराका डेपुटी डाइरेक्टर विजयान्त शेरचन र टेक्निकल डाइरेक्टर डाक्टर नारायण गुरुङ पनि कार्यक्रममा सहभागी भए,’ उनले भने।
२०४५ सालतिर निर्माण सुरु भएर १२/१५ वर्षको अवधिमा पूरा भएको खानेपानी योजना जीर्ण हुँदा नयाँ योजनाको आवश्यकता परेको उनी बताउँछन्। ‘पुरानो योजना त थियो, मुहान तल भएका कारण माथिल्लो भेगमा पानी नै जाँदैन थियो,’ पुनले भने, ‘बिच बिचमा लिक हुने भएका कारण तलको बस्तीसम्म पनि पर्याप्त पानी पुग्दैनथ्यो। यी सबैको समाधान गर्ने गरी योजना निर्माण गरेर अगाडि बढ्दा अहिलेको योजना पूरा भएको छ। अब पानीको समस्या समाधान भएको छ।’ बस्ती भन्दा ९ किलोमिटर टाढाको मुहानबाट खानेपानी ल्याएर वितरण गरिएको उनी बताउँछन्।
‘अहिले अलि माथि र ९ किलोमिटर टाढाको मुहानबाट पानी ल्याएका छौँ,’ उनले भने, ‘खुँगा, सोरबाङ र किरीको घर घरमा एक घर एक धारा निर्माण भएको छ। कुल ३२ हजार पाँच सय ७० मिटर पाइपलाइन बिच्छाएर खानेपानी उपलब्ध गराइएको छ।’ खानेपानी योजना अन्तर्गत २ वटा इन्टेक, १ फिल्टर टंकी, १० वटा वितरण च्यामबर, १७ वटा रिजर्भ टंकी निर्माण गरिएको छ। सरकारी गैरसरकारी सबै क्षेत्रमा प्रयास गर्दा पनि खानेपानीको योजना अगाडि बढाउन नसकेपछि कादुरीसम्म पुगेर योजना निर्माण गरेको वडाध्यक्ष पुनले सुनाए।
‘सरकारबाट १०/१५ लाखको बजेट आउँथ्यो, त्यसले केही गर्न पुग्दैन, गैरसरकारी क्षेत्रमा पनि प्रयास गर्यौँ। लागत ठुलो लाग्ने छरिएर रहेको बस्ती हुनाले काम अगाडि बढाउन सकिएको थिएन,’ वडाध्यक्ष पुन भन्छन्, ‘वेलफेयर कार्यालय पोखरामा निवेदन दिएपछि योजनाको काम अगाडि बढ्यो।’ अवकाश प्राप्त भारतीय सेना उजिरबहादुर पुनबाट निवेदन हालेर योजना माग गरिएको उनले बताए। ‘गाउँलेको साझा सहमति भएपछि सके बेलायती सेनाको नभएर भारतीय भए निवेदन दिनका लागि रिटायर्ड आर्मी हुनुपर्ने भन्ने रहेछ,’ उनी भन्छन्, ‘हामीसँग उजिर बहादुर पुन हुनुहुन्थ्यो। उहाँबाट वेलफेयरको पोखरा अफिसमा निवेदन पेस गरेपछि प्रोसेस अगाडि बढ्यो।’
कादुरीले निर्माण गर्ने योजनाहरू छिटो छरितो र गुणस्तरीय हुने गरेकाले आफूहरूले विशेष जोड दिएको उनको भनाइ छ। ‘कादुरीको खानेपानी सप्लाई प्रणाली, काम र संरचनाको गुणस्तर पनि एकदमै राम्रो छ। उनीहरूले आर्थिक मात्रै होइन प्राविधिक जनशक्ति पनि आफै लिएर आफै योजना निर्माण जुट्छन्,’ उनले भने, ‘काम पनि एकदमै छिटो दिन गनेर काम गर्ने चलन रहेछ। यति ठुलो योजना निर्माण गर्न जम्मा २१० दिनको समय निर्धारण गरिएको थियो। बेलैमा योजना सम्पन्न भयो।’
योजना जीर्ण हुँदा नागरिकले पाएको दुःख अब सकिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष बलबहादुर बुढाथोकीले बताए। ‘माथितिर त पानी नै जाँदैनथ्यो, बिच बिचमा लिक भएर हैरान भएको थियो। अब आनन्द भएको छ,’ बुढाले भने। अहिले खानेपानी योजनाको मर्मत सम्भार कोष रहेकाले सहज हुने विश्वास व्यक्त गरे।
‘हामीले मिटर जडान गरेका छौँ, अहिले प्रतिधारा ७० रुपैयाँ मासिक उठाउने कुरा भएको छ। तोकिएको मिटर भन्दा बढी पानी प्रयोग गरेका कति शुल्क लिने भन्ने विषयमा बसेर छलफल गरी टुङ्गो लगाउँछौँ,’ उनी भन्छन्, ‘उठाएको रकम कर्मचारीको तलब र मर्मत सम्भार कोषमा जाने व्यवस्था मिलाएका छौँ।’ योजना निर्माण गर्ने संस्था कादुरीले अहिलेका योजनाले ३० वर्षलाई पुग्ने भनेको बताउँदै उनले राम्रो संरक्षण गर्न सकिए पचास वर्षलाई पानीको समस्या नहुने सुनाए।
प्रकाशित: १ असार २०८३ १३:२५ सोमबार





