१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

मनाङको चामे गाउँपालिका–३ र ५ लाई जोड्ने गरी मस्र्याङ्दी नदीमा बेलिब्रिज निर्माण गरिएको छ।

बेलिब्रिज सञ्चालनमा आएसँगै सडक सञ्जाल नपुगेको नार्पाभूमिका बासिन्दाको आवातजावत र ढुवानीमा सहज भएको छ। चौवन्न दशमलव चार मिटर लामो र चार मिटर चौडा उक्त बेलिब्रिजको सोमबार नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले उद्घाटन गरे। 

बेलिब्रिज निर्माणले नार्पाभूमि गाउँपालिकाको सडक पहुँच विस्तार भएको छ। सडक पहुँच विस्तारसँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यापार तथा सरकारी सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष लामाले बताए। पुल नार्पाभूमि गाउँपालिका र नारखोला हाइड्रो इनर्जी प्रालिको साझेदारीमा निर्माण गरिएको हो।

भारवहन क्षमता ५५ टन रहेको उक्त पुल करिब छ करोडको लागतमा निर्माण भएको अध्यक्ष लामाले जानकारी दिए। हाल चामेदेखि नार्पाभूमिको सीमासम्म छ किमीसम्म सडक पुगेको छ। गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण गर्न भने अझै ११ किमि बाँकी छ। अध्यक्ष लामाले भने, 'बाँकी खण्डमा अहिले मार्ग खोल्ने काम भइरहेको छ,आगामी चैतसम्म सडक पुर्‍याउने लक्ष्य छ।' स्थानीय नार खोलामा पुल बनेपछि जिल्ला सदरमुकाम चामे र त्यस गाँउपालिकामा सडक सञ्जालमा जोडिनेछ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील लम्सालले बेलिब्रिज सञ्चालनमा आएपछि नार्पाभूमिलाई सडक सञ्जालसँग जोड्ने प्रक्रिया अगाडि बढेको बताए।

प्रकाशित: १९ श्रावण २०८३ ११:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App