जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको छ। होटल सङ्घ, काभ्रेपलाञ्चोकले सदरमुकाम धुलिखेललाई मुख्य आधार (हब) बनाएर स्थानीय तहका गन्तव्यमा दिवा भ्रमण ‘डे ट्रिप्स’ गराउने रणनीतिक प्रस्ताव अघि सारेको हो।
सङ्घका अध्यक्ष प्रल्हाद प्याकुरेलले जिल्लाका होटल व्यवसायको वर्तमान अवस्था, लगानी, रोजगारी तथा १३ वटै स्थानीय तहका पर्यटकीय सम्भाव्यतालाई विस्तृत रूपमा समेट्दै अवधारण अघि सार्नुभएको हो। सङ्घले मुख्य पर्यटकीय सहर धुलिखेललाई मुख्य पर्यटकीय (हब) बनाई जिल्लाका अन्य १२ वटा विशेष गन्तव्यलाई प्राथमिकतामा समेत राखिएको उल्लेख छ।
होटल व्यवसायमा करिब रु २८ अर्बको लगानी रहेको र जम्मा १८९ वटा होटल सञ्चालनमा रहेको उल्लेख छ। धुलिखेल क्षेत्रमा ८८, नगरकोट क्षेत्रमा ६३, बनेपामा १५, दोलालघाटमा सात, पनौती (बल्थली र (कुशादेवी क्षेत्रमा सात, नमोबुद्धमा छ र पलाञ्चोकमा तीनवटा होटल रहेका छन्।
धुलिखेल क्षेत्रमा मात्रै होटल व्यवसायमा निजी क्षेत्रको करिब रु २५ अर्ब लगानी भइसकेको छ। प्रस्तुत तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाबाट रु १५ अर्ब कर्जा परिचालन भएको र व्यवसायीले वार्षिक करिब रु एक अर्ब ब्याज बुझाउँदै आएका छन्। धुलिखेलका ८८ वटा होटलमा एक हजार ३५० कोठा र दुई हजार ८५० बेड क्षमता उपलब्ध छ।
जिल्लस्थित पर्यटकीय क्षेत्रले वार्षिक रु दुई अर्ब बढीको कारोबार गर्दै राज्यकोषमा रु तीन करोडभन्दा बढी कर योगदान गरेको अवधारण पत्रमा उल्लेख छ। व्यवसायमा ८० प्रतिशत अर्थात् एक हजार ३०० लाई प्रत्यक्ष रोजगारी प्रदान गरेको उल्लेख छ। कुल रोजगारीमध्ये ८० प्रतिशतभन्दा बढी (एक हजार ४० जना) काभ्रे जिल्लाभित्रकै स्थानीय नागरिक छन्।
विविधतायुक्त पर्यटकीय सम्भाव्यता समुद्री सतहको २८० मिटर (कोखाजोर खोला)देखि तीन हजार १८ मिटर (बेथानचोक नारायणस्थान)सम्म फैलिएको काभ्रेपलाञ्चोक प्राकृतिक तथा सांस्कृतिक रुपमा सम्पन्न छ। राजधानी काठमाडौँसँगको निकटता, अरनिको र बिपी राजमार्गको सहज पहुँच, काठमाडौँ विश्वविद्यालय तथा धुलिखेल अस्पतालजस्ता प्रतिष्ठित संस्थाले यहाँको पर्यटन पूर्वाधारलाई बलियो बनाएका छन्।
सङ्घले जिल्लाका स्थानीय तहअनुसार पहिचान गरिएका प्रमुख गन्तव्य तथा विशेषतामा धुलिखेल र बनेपा ऐतिहासिक नेवारी बस्ती, हजार सिँढी, चण्डेश्वरी, गौखुरेश्वर, साँगा (कैलाशनाथ) तथा स्वास्थ्य एवं शैक्षिक पर्यटन रहेको छ।
पनौती र बल्थलीमा त्रिवेणी घाट, मकर मेला, इन्द्रेश्वर मन्दिर (प्रस्तावित विश्व सम्पदा सूची), सांस्कृतिक पदयात्रा र होमस्टे, नमोबुद्ध-दाप्चामा विश्वप्रसिद्ध बौद्ध स्तूप, बुद्ध सर्किट, गुम्बा र तामाङ संस्कृति, पाँचखाल तथा मण्डनदेउपुरमा पलाञ्चोक भगवती, कृषि पर्यटन, नगरकोटको दृश्यावलोकन र इन्द्रावती किनार रहेको हो।
जिल्लाको दक्षिणीक्षेत्र बेथानचोकमा तीन हजार १८ मिटर अग्लो नारायणस्थान डाँडा, दृश्यावलोकन, साहसिक पदयात्रा र खुवा उत्पादन, जिल्लाको दक्षिण-पूर्विी क्षेत्र रोशी र तेमालमा तीनधारे झरना, तारा खसेको ताल, बोधिचित्तको उद्गम र रेञ्जेन दोर्जे दरबारको अवशेषलाई प्राथमिकता दिइएको छ।
यस्तै भुम्लु, चौँरीदेउराली, महाभारत र खानीखोला गाउँपालिकामा सुनकोशी-इन्द्रावती दोभान, र्याफ्टिङ, महाभारतको बाक्लो जङ्गल, सात थरि लालीगुराँस, कफीखेती तथा अग्र्यानिक कृषिलाई पर्यटकीय पूर्वाधार विकासको प्राथमिकतामा राखिएको छ।
यसका साथै धुलिखेल-कुशादेवी-चण्डेनी क्षेत्रमा प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ। दोलालघाट-दुम्जा रुटमा रिभर र्याफ्टिङ, रक क्लाइम्बिङ तथा चरा-पुतली अवलोकन केन्द्रको उच्च सम्भावना छ।
सङ्घले धुलिखेललाई देशकै पहिलो पर्यटकमैत्री सहर घोषणा गर्न, पनौती र नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन, पर्यटक प्रहरी परिचालन गर्न र सार्वजनिक-निजी साझेदारी (पिपीपी) मोडलमा स्थायी पर्यटन संयन्त्र निर्माण गर्न सरकारसँग मागको प्रक्रिया अघि बढाएको छ।
प्रकाशित: १३ आश्विन २०८३ १३:५३ मंगलबार





-600x400.jpg)