मनसुनजन्य विपद्को संयुक्त सामना गर्न र एक जिल्लामा अपराध गरेर छिमेकी जिल्लामा लुक्ने फरार अभियुक्तहरूलाई पक्राउ गर्न पूर्वी पहाडका तीन जिल्लाका प्रहरी प्रमुखहरूले साझा सुरक्षा रणनीति बनाएका छन्।
भौगोलिक रूपमा सीमा जोडिएका ताप्लेजुङ, पाँचथर र तेह्रथुमका जिल्ला प्रहरी प्रमुखहरूबीच सम्पन्न भर्चुअल बैठकले अन्तर-जिल्ला सूचना आदान-प्रदानलाई तीव्र बनाउँदै संयुक्त अपरेसन सञ्चालन गर्ने निष्कर्ष निकालेको हो।
तीनवटै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकहरू सहभागी बैठकमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, अनुसन्धानमा प्राविधिक सहकार्य, फरार प्रतिवादीहरूको खोजतलास एवं गिरफ्तारीलाई मुख्य प्राथमिकतामा राखिएको छ।
ताप्लेजुङका प्रहरी प्रमुख कमल बजगाइँका अनुसार अन्तर-सम्बन्धित सुरक्षा चुनौतीहरूलाई चिर्दै नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन यो सहकार्य थालिएको हो।
‘तीनै जिल्लाका प्रहरी कार्यालयले सापेक्ष र अन्तर-सम्बन्धित सवालहरू सम्बोधन गर्दै अपराधमुक्त समाज निर्माणका लागि सहकार्य गर्ने निष्कर्षमा पुगेका छौं,’ डिएसपी बजगाइँले भने।
पछिल्लो समय यस क्षेत्रमा देखिएको मनसुनजन्य विपद् र त्यसले पारेको प्रभाव न्यूनीकरणमा समेत तीन जिल्लाका प्रहरीले एकअर्कालाई तत्काल सहयोग गर्ने समझदारी बनेको छ।
बाढी, पहिरो तथा प्राकृतिक विपत्तिका बेला सीमावर्ती क्षेत्रमा छिटो उद्धार र राहत पुर्याउन सूचना संयन्त्रलाई प्रभावकारी बनाइनेछ।
आपसी सीमा जोडिएका जिल्ला भएकाले एउटा जिल्लामा अपराध गरेर अर्को जिल्लामा शरण लिने प्रवृत्तिलाई निरुत्साहित गर्न प्रहरीले अब संयुक्त निगरानी र जाँच गर्ने भएको छ।
प्रकाशित: १३ आश्विन २०८३ १६:३३ मंगलबार


-600x400.jpg)


