२१ असार २०८३ आइतबार
image/svg+xml
समाज

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवन रत्ननगर नगरपालिका–१२ जिरौनाका कृषक ठाकुर सापकोटाले केराको विविधिकरण गर्दै यसबाट मदिराजन्य पेय पदार्थ उत्पादन गर्न सफल भएका छन्। 

उत्पादनमुखी कृषि प्रणालीलाई उद्योगसँग जोड्ने उद्देश्यले विगत एक वर्षदेखि  उनले केराका बाइ–प्रोडक्ट उत्पादनका लागि अध्ययन तथा प्रयोगात्मक अनुसन्धान सुरु गरेका हुन्।  

एक एण्ड बी केरा फार्ममार्फत करिब १२ बिघा क्षेत्रफलमा व्यावसायिक रूपमा केराखेती गर्दै आएका उनले हावाहुरी, बजार अभाव तथा अन्य प्राविधिक कारणले बोटमै कुहिने र खेर जाने केरालाई कच्चा पदार्थका रूपमा उपयोग गर्ने सोचका साथ मदिराजन्य पेय पदार्थ उत्पादनको परीक्षण थालेका हुन्।  

कृषि विकास कार्यालय, भरतपुरको सहयोग, प्राविधिक उपकरण तथा प्रोत्साहनमा सञ्चालन गरिएको अनुसन्धानबाट केराको वाइन उत्पादन पूर्ण रूपमा सफल भएको छ भने ब्रान्डी उत्पादनसम्बन्धी अनुसन्धान सफल चरणमा पुगेको बताए। 

उनका अनुसार एक पटकमा ५०० केजी पाकेको केरा प्रशोधन गर्दा करिब २०० लिटर वाइन उत्पादन गर्न सकिन्छ। त्यसैगरी, ३०० केजी केराबाट करिब १२० देखि १३० लिटर ब्रान्डी उत्पादन हुने गरेको छ। यो प्रविधि पूर्ण रूपमा पाकेको केरामा हुने प्राकृतिक चिनीको फर्मेन्टेसन प्रक्रियामा आधारित रहेको उनले बताए।  

सापकोटाले यस व्यवसायलाई ठूलो डिस्टिलरीका रूपमा नभई स्थानीयस्तरमै सञ्चालन हुने ‘माइक्रो–डिस्टिलरी’ (लघु मदिरा उद्योग) का रूपमा दर्ता गर्ने प्रक्रिया अघि बढाएको बताए। उनले गण्डकी गाउँपालिका तथा खोटाङका स्थानीय तहहरूले कोदोको ब्रान्डिङ गरेजस्तै चितवनको केरालाई पनि स्थानीय कानुन तथा कार्यविधिमार्फत ब्रान्डिङ गर्नुपर्ने आवश्यकता रहेको बताए। 

उनले भने, ‘हामी ठूलो डिस्टिलरी होइन, स्थानीय स्तरको माइक्रो–डिस्टिलरीका रूपमा दर्ता प्रक्रिया अगाडि बढाउँदैछौँ। गण्डकी गाउँपालिका वा खोटाङले कोदोको ब्रान्डिङ गरेजस्तै चितवनको केरालाई पनि ब्रान्डिङ गर्न सकियो भने यसले कृषि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनेछ। चितवन आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो उत्कृष्ट चिनोसमेत बन्न सक्छ।’ 

हाल परीक्षणका रूपमा करिब एक हजार जनालाई केराबाट उत्पादित पेय पदार्थ चखाइएकामा अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको र आगामी आर्थिक वर्षदेखि व्यावसायिक उत्पादन तथा बजार विस्तार गर्ने तयारी भइरहेको सापकोटाले बताए । उनका अनुसार हाल परीक्षण चरणमा परिवारका सदस्यसहित उद्योग र बजार व्यवस्थापनमा प्रत्यक्ष रूपमा आठदेखि नौ जना संलग्न छन्। 

यसका साथै, केराका बहुउपयोगी परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले रत्ननगरको टाँडी बजारस्थित बकुलहर चोकमा छुट्टै आउटलेट सञ्चालनमा ल्याइएको छ। उक्त आउटलेटमा केराको मःमः, चिप्स, पकौडा, छोइला, बनाना चिल्ली तथा अचारलगायतका विभिन्न परिकार उपलब्ध गराइएको छ, जसले स्थानीय उपभोक्ता तथा पर्यटकलाई आकर्षित गरिरहेको छ।  

सापकोटा भन्छन् , ‘धेरै वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आउँदा बजारीकरण र प्राकृतिक विपत्तिका कारण ठूलो समस्या भोग्नुप¥यो। बारीमै पाकेर खेर जाने केरालाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सोच्दै जाँदा यो अवधारणा विकसित भएको हो।’  

केरालाई विविधीकरण गरी चितवनको पहिचानका रूपमा स्थापित गर्ने तथा यसको व्यावसायिक विस्तारमार्फत स्थानीय कृषि अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य रहेको बताए। 

प्रकाशित: १६ असार २०८३ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App