भारतको मेघालय कोइलाखानी विस्फोटनमा परि ज्यान गुमाएका खोटाङका मृतकहरूको अन्त्येष्टि उतै गरिएको छ। विस्फोटनमा परि ज्यान गुमाउनेमध्ये खोटाङका ३ युवाको शव मेघालयमै अन्त्येष्टि गरिएको आफन्तलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
मेघालयको एक अवैध कोइला खानीमा माघ–२२ गते विस्फोटनमा परि खोटाङ बराहपोखरी गाउँपालिका–१ सालघारीका २७ वर्षीय पूर्णिराम खपांगी मगर र उनकै सहोदर भाइ २४ वर्षीय सुरेन्द्र खपांगी मगर तथा सोही वडाको भञ्ज्याङका ३५ वर्षीय नरबहादुर खपांगी मगरको ज्यान गएको थियो।
घटनाको भोलिपल्ट भारत हिँडेका आफन्तहरू ३ दिनपछि पुगे पनि शव नेपाल ल्याउन कानुनी तथा व्यवहारिक झन्झट भएको खबर आएको थियो। शव नेपाल ल्याउन भारत र नेपाल दुवै सरकारले चासो नदिएको पीडित परिवारको गुनासो थियो। अन्ततः मेघालय राजधानी सलोङस्थित भालुपारामा सोमबार राति अन्त्येष्टि गरिएको उनीहरूको मृतकका आफन्त प्रकाश खपांगी मगरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
विस्फोटनमा परि तीनै जनाको शव आगोले गलिसकेको अवस्थामा भेटिएकाले नेपाल ल्याउनु र नल्याउनुमा कुनै तात्त्विक अर्थ नभएको र कानुनी समस्या पनि उत्तिकै रहेकाले उतै अन्त्येष्टि गर्ने निधो गरेको खपांगीले बताए। सो विस्फोटमा खोटाङकै हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राई पनि बेपत्ता भएको र हालसम्म पत्ता नलागेको बनाइएको छ।
गत असोज–९ गते मात्र रोजगारीका लागि मेघालय गएका रत्नको पनि विस्फोटनमा मृत्यु भइसकेको अनुमान बलियो रहेको छ। सँगै काम गर्नेहरूले विस्फोटनका बेला रत्न खानीभित्रै पसेको तथा नागरिकता, डायरी र मोबाइल कोठामै भेटिएकाले मृत्यु निश्चित मानेर घर परिवारले किरात संस्कार अनुसार काजकिरियाको प्रक्रिया सुरु गरिसकेको स्थानीयले बताएका छन्।
विस्फोटनमा गम्भीर घाइते भएका बराहापोखरी १ कै ३ जना र उदयपुर त्रियुगा नगरपालिका १४ साउनेका १ जनाको सिलोङस्थित निलग्रीन हस्पिटलमा उपचार भइरहेको घटनास्थल पुगेका प्रकाश मगरले बताए। घाइते हुनेमा बराहपोखरी १ सालघारीका ४७ वर्षीय कर्णबहादुर खपांगी मगर, भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपांगी मगर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ४८ वर्षीय दावा शेर्पा छन्। त्यसैगरी अर्का घाइते त्रियुगा १४ साउनेका ललितबहादुर लुंगेली मगरको उपचार भइरहेको छ।
परिवारजनका अनुसार मृतक खपांगी दाजुभाइलगायत ७ जनाको टोली काम खोज्दै नेपाल छाडेकोमा गत पुस–३ गते मात्र मेघालय पुगेका थिए। एकाघरका दाजुभाइसहित गाउँका ३ जनाको एउटै घटनामा ज्यान गएपछि बराहपोखरी पुरै शोकमा डुबेको छ। खपांगी दाजुभाइका बुवा खड्गबहादुर र आमा टंककुमारी दुई छोराको मुगलानमा एकै चिहान भएपछि बेहोस जस्तै भएको स्थानीयले बताएका छन्।
उनीहरूसँगै गएका ७ जनाको टोलीमा एक मात्र जीवित बराहापोखरी–१ वालम्पाका ताराबल मगर भने सकुशल छन्। विस्फोटनको बेला खानीबाहिर रहेकाले उनी बाँच्न सफल भएको र घटनाबारे परिवारजनलाई उनले नै टेलिफोनमार्फत जानकारी गराएको प्रहरीले जनाएको छ।
प्रकाशित: २८ माघ २०८२ १२:०४ बुधबार





