२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

पूर्वमा सिटी सफारीको बढ्दो ‘मृ’त्यु यात्रा’

फाइल।

घटना नं. १: दुई वर्षअघि सुनसरी बराहक्षेत्र नगरपालिकाको भरौलमा सिटी सफारीसँग ठोकिएर घाइते भएका मोटरसाइकल चालक उदयपुर बेलका नगरपालिकाका तत्कालिन वडा नं-९ का वडाध्यक्ष पदम खड्काको मुत्यु भएको थियो।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसकेपछि हेलिकप्टर चार्टर गरेर काठमाडौंमा उपचारका लागि लगेपनि उनको एक सातापछि मृत्यु भएको थियो।

घटना नं. २ : २०८२ साउन ६ गते मोरङ् लेटाङ् वडा नं-४ मा अनटेस्ट सिटी सफारी अनियन्त्रित भएर पल्टिदा सोही ठाउँका ३२ वर्षे जनम तामाङ् सिकिस्त घाइते भए। सिटी सफारीमा सवार जनमको विराट नर्सिह होममा उपचारका क्रममा मृत्यु भयो। 

घटना नं. ३ : अघिल्लो वर्षको साउन २२ गते मोरङको विराटचोकमा यात्रुबाहक बसले सिटी सफारीलाई ठक्कर दिँदा सिटीमा सवार सुनसरी दुहवी वडा नं-४ का ६१ वर्षे तुलसीप्रसाद गुरागाईंको मृत्यु भएको थियो।

यी घटना त उदाहरण मात्र हुन्। एकपछि अर्को गरि कोशी प्रदेशमा बग्रेल्ती घटना भएका छन्।  यसरी कोशी प्रदेश त्यसमा पनि तराईका जिल्लामा सञ्चालित सिटी सफारी पछिल्लो समय दुर्घटनाको मुख्य कारक बन्दै गएको  छ।

पछिल्लो पाँच वर्षमा मात्रै  सिटी सफारी दुर्घटनामा ११६ जनाको मृत्यु भइ सकेको छ। मृत्यु हुनेको तुलनामा घाइते हुनेको संख्या ठूलो छ। पाँच वर्षको अवधिमा तीन हजार ९७० जना घाइते भएका छन्। यो अवधिमा दुई हजार ७३२ वटा दुर्घटना भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले तथ्याङ्क सार्वजनिक गरेको छ।

तथ्याङ्क अनुसार मृत्युदरको प्रवृत्ति हेर्दा २०७८/७९ मा २२ जनाबाट सुरु भएको संख्या २०७९/८० मा २४ पुगेको थियो। आर्थिक वर्ष २०८०/८१ मा बढेर ३६ पुगेको देखिन्छ। जुन पछिल्ला पाँच वर्षकै सबैभन्दा उच्च मृत्यु दर हो। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म थप १९ जनाको मृत्यु भइसकेको छ। सवैभन्दा कम आर्थिक वर्ष २०८१/८२ मा १५ जनाको मृत्यु भएको छ। 

घाइतेको तथ्याङ्क अझ गम्भीर छ। २०७८/७९ मा ६६८ जना घाइते भएकोमा २०७९/८० मा ७६२ पुगेको थियो।  त्यसपछि २०८१/८२ मा ७५१ जना घाइते भएको देखिन्छ। चालु वर्षमै एक हजार १९५ जना घाइते भएका छन्। यसले घाइते संख्या समयसँगै अझ विस्तार हुँदै गएको र सवारी दुर्घटनाको प्रभाव क्षेत्र बढ्दै गएको देखाउँछ।

पाँच वर्षको अवधिमा दुई हजार ७३२ वटा सवारी दुर्घटनाका घटना भएकाा भएका छन्। दुर्घटनामा आर्थिक वर्ष २०७८/७९ मा ४५३ वटा, २०७९/८० मा ५५२ वटा, २०८०/८१ मा ४४६ वटा र २०८१/८२ मा ५८१ वटा दुर्घटना भएको छ।

चालु वर्षमा मात्रै ७०० वटा दुर्घटना भइसकेका छन्, जसले दुर्घटना नियन्त्रणभन्दा पनि तीव्र गतिमा वृद्धि भइरहेको देखाउँछ। विशेषगरी, मोरङ, सुनसरी, झापा र उदयपुरमा दुर्घटना भएका छन्। 

यसरी सिटी सफारी पूर्वमा दुर्घटनाको मुख्य कारक बनेपछि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले यसलाई न्यूनीकरण गर्न विशेष अभियान थालेको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले ‘सुरक्षित चालक अभियान’ अन्तर्गत सिटी सफारी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन चालकहरूलाई क्यूआर कोडसहितको ‘सुरक्षित चालक पोशाक’ वितरण अभियान सुरु गरेको छ।

अभियानको बुधबार कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेले सवारी चालक अनुमति पत्र प्राप्त सिटी सफारी चालकहरूलाई सुरक्षित चालक पोशाक वितरण गरि सुरुवात गरे।

 सो क्रममा उनले  ट्राफिक नियमको पूर्ण पालना गर्न चालकहरूलाई आग्रह गर्दै सुरक्षित चालक नै सुरक्षित यात्राको आधार भएको बताए। ‘जिम्मेवार र अनुशासित ढंगले सवारी साधन सञ्चालन गरी यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन सिटी सफारी चालकको दायित्व हो,’ उनले भने। 

सो क्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख एसएसपी ज्ञानेन्द्र फुयालले सुरक्षित यात्राका लागि चालक पोशाक अनिवार्य रहेको बताए।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी दिपक गिरीका अनुसार मोरङमा माघ महिना दुई हजार एक सयलाई ज्याकेट वितरण गरेर त्यहाँ केही हदसम्म दुर्घटनामा कमी आएपछि यसलाई विशेष अभियानको रुपमा सञ्चालन गरिएको बताए। 

कार्यक्रममा सिटी सफारी चालक संघ इटहरीका कुमार तामाङ्ले सिटी सफारीका निम्ति सरकारले रुटसम्बन्धी व्यवस्था परिमार्जन गर्नुपर्ने सुल्झाए।

यसअघि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले इटहरी क्षेत्रमा सिटी सफारीलाई व्यवस्थित गर्नका लागि टाइम कार्ड समेत लागू गरेको थियो। तर, त्यो पनि प्रभावकारी हुन सकेन्।

इटहरीमा पहिलोपल्ट ट्राफिक प्रहरीको अगुवाईमा २०७३ असोज दोस्रो साता पनि मुख्य राजमार्गमा सिटी सफारी गुड्न रोक लगाइएको थियो।

तर, सिटी सफारी चालकले आन्दोलन चर्काएपछि एक दिनमै  ट्राफिक प्रहरी लचिलो भएर यात्रुलाई गन्तब्य स्थानसम्म पुर्‍याउन छोटो दुरीका लागि मुख्य राजमार्गमा गुड्न दिने सहमति गरेसँगै सहज ढंगले सिटी सफारी सञ्चालनमा आएका थिए। 

सिटी सफारी सवैभन्दा बढी झापा, मोरङ र सुनसरीका ठूला सहरमा सञ्चालनमा रहेका छन्। पछिल्लो समय पूर्वका पहाडी जिल्लामा पनि सिटी सफारी सञ्चालन हुने गरेका छन्। कोशी प्रदेशमा मात्र २० हजार भन्दा बढी सिटी सफारी रहेको कोशी अञ्चल यातायात कार्यालय इटहरीले जनाएको छ।

प्रकाशित: २७ जेष्ठ २०८३ १८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App