२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

ईवा हाइड्रोपावरले गरेको पूर्वसहमति कार्यान्वयनको माग गर्दै आयोजना प्रभावित क्षेत्रका नागरिक आन्दोलित

ईवा हाइड्रोपावर कम्पनीले पूर्वसर्त र सहमति कार्यान्वयन नगरेको भन्दै प्रभावित क्षेत्रका जनताले गाउँपालिका गुहारेका छन्।

आयोजना प्रभावित क्षेत्रका जनताले सिदिङ्वा गाउँपालिकालाई हाइड्रोपावर कम्पनीले गरेको पूर्वसहमति कार्यान्वयन गरी मोटरबाटो निर्माण, विद्युत सेवा विस्तार र शैक्षिक सहयोग सुनिश्चित गरिदिन अनुरोधपत्र लेखेका हुन्। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका तथा पाँचथरको याङवरक गाउँपालिकाको बिच भएर बग्ने इन्द्रावति खोलामा सञ्चालित ईवा हाइड्रोपावर कम्पनीले २०७९ साल वैशाख २७ गते गरेको लिखित सम्झौता कार्यान्वयन हुनुपर्ने प्रभावित क्षेत्रका नागरिकको माग रहेको छ।

प्रभावित क्षेत्रका नागरिकले सहमति कार्यान्वयनका लागि आफूहरू जटिल र संवेदनशील कार्यतर्फ अग्रसर हुन थालेको चेतावनी दिँदै अवस्था थप जटिल नबनाउन तथा पालिकाको तर्फबाट अभिभावकीय भूमिका निर्वाह गर्दै आवश्यक पहल, समन्वय र दबाबका लागि सिदिङ्वा गाउँपालिकालाई आग्रह गरेका छन्। प्रभावित क्षेत्रका नागरिकहरूले पूर्व सहमति अनुसार सिदिङ्वा गाउँपालिका वडा नं ३ साविक वडा नं ८, ६ र ३ को खोरिम्बा हुँदै साँघुडाँडा जाने मोटरबाटो निर्माणको पूर्णता, प्रभावित क्षेत्रका विद्यालयलाई जनही ३ लाख रुपैयाँका दरले दिइने सहमति भएको रकमको तत्काल निकासा र विद्युत सेवा विस्तार जस्ता सहमतिका विषय कार्यान्वयन गर्न माग गरेका हुन्।

प्रभावित समुदाय सदस्यहरूका अनुसार ईवा हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिकलाई सेवा उपलब्ध हुने गरी विद्युत सेवा विस्तारका लागि पोल उपलब्ध गराई विद्युत सेवा सुनिश्चित गर्नेगरी गरेको लिखित सहमति समेत उल्लंघन गरेको छ। पूर्व सहमति कार्यान्वयन गर्न र आफूहरूलाई पटक–पटक धैर्यताको परीक्षण नगर्न उनीहरूले जलविद्युत कम्पनीको ध्यानाकर्षण गराएका छन्।

२०७९ साल जेठ १५ गतेदेखि सुरु गर्ने भनिएको खोरिम्बा हुँदै साँघुडाँडा जाने मोटरबाटो बोदोक हुँदै साँघुडाँडासम्म निर्माण कार्यबिचमै रोकिएको आयोजना प्रभावित क्षेत्रका जनताले भनेका छन्। २०७९ साल वैशाख २७ गते गरेको लिखित सम्झौतामा सिदिङ्वा गाउँपालिकाका तत्कालीन अध्यक्ष नरबहादुर कडरिया र  ईवा हाइड्रोपावर कम्पनीकातर्फबाट आयोजना प्रमुख उमेश नेपालको हस्ताक्षर रहेको छ।

रन अफ रिभर जलविद्युत आयोजना रहेको इँवाखोला जलविद्युत आयोजना ९.९० मेगावटको रहेको छ। रैराङ हाइड्रोपावर कम्पनी लिमिटेड यसको प्रवर्द्धक रहेको छ।

प्रकाशित: १९ जेष्ठ २०८३ ११:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App