नेपालमा काम गर्ने विदेशी कामदारमध्ये सबैभन्दा बढी चिनियाँ नागरिक रहेका छन्। नेपालको जलविद्युत्, सडक, विमानस्थलसहित ठुला पूर्वाधार निर्माणमा चिनियाँ नागरिकले श्रम स्वीकृति लिएका हुन्। चिनियाँ कम्पनीहरूले ठेक्का लिएका स्थानमा चिनियाँ नागरिक कामदारका रूपमा आउने गरेका छन्।
विदेशबाट नेपालमा काम गर्ने प्रयोजनका लागि चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा पाँच सय विदेशीले श्रम स्वीकृति लिएका छन्। असोज मसान्तसम्म यो संख्यामा यी गैर नेपाली नागरिकले नयाँ श्रम स्वीकृति तथा नवीकरण लिएका हुन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले दिएको जानकारीअनुसार नेपालमा निर्माण क्षेत्रको जिम्मा लिएका विदेशी निर्माण कम्पनीहरूमा आउने उच्च दक्ष तथा दक्ष प्राविधिकहरूले यस्तो श्रम स्वीकृति लिने गरेको पाइन्छ। त्यसमा पनि चिनियाँ नै बढी छन्।
विदेशी विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न विदेशी कामदार आउँछन्। प्राय: निर्माणाधीन क्षेत्रका लागि उच्च प्राविधिकहरू विदेशी आउने गरेका छन्।
वैदेशिक रोजगारीको खोजीमा नेपालका युवा वर्ग विभिन्न देश पुग्ने गर्छन्। प्राय: सबैलाई लाग्ने गर्छ, नेपालमा रोजगारका अवसरहरू नहुँदा नेपाली युवा बिदेसिएका हुन्। तर रोजगारको अवसर देखेरै थुप्रै विदेशी नेपालमा वैधानिक तथा अवैध दुवै तवरले काम गर्न आउने गरेका छन्। त्यसै पनि विदेशी कामदार नेपालको विभिन्न बजारमा यत्रतत्र देख्न सकिन्छ। नेपाली बजारमा विदेशी कामदार वैधानिक तवरले हेर्ने हो भने चिनियाँ नागरिक बढी छन्। तर अवैध रूपमा नेपालमा काम गर्ने विदेशी कामदार भारतीय बढी रहेको अधिकारीहरू बताउँछन्।
विभागका निर्देशक मणिनाथ गोपका अनुसार नेपालमा काम गर्ने विदेशी कामदारमध्ये चिनियाँ नागरिकको पूरा अभिलेख राख्ने गरिएको छ। तर भारतीय नागरिकको कुनै अभिलेख छैन। नेपालमा काम गर्ने विदेशी सबै कामदारको अभिलेख हुने हो भने भारतीय नागरिक पहिलो नम्बरमा हुने उनले बताए। ‘नेपालमा काम गर्ने चिनियाँमा उच्च दक्ष कामदार बढी छन्। उनीहरू सबैको अभिलेख हामीसँग छ,’ उनले भने, ‘चिनियाँका नागरिकभन्दा बढी अवैध काम गरिरहेका भारतीय नागरिक छन् तर त्यसको कुनै अभिलेख हामीसँग छैन।’
चिनियाँ नागरिक नेपालमा काम गर्न आउँदा श्रम स्वीकृति लिने गरेका छन् भने भारतीय नागरिकले श्रम स्वीकृति लिनुपर्ने त्यस्तो
कुनै प्रावधान नरहेको उनले नागरिकलाई बताए।
उनका अनुसार नेपालमा निर्माणाधीन खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनी, इलेक्ट्रोनिक कम्पनी र एयरलाइन्सको रोजगारीमा धेरै विदेशी कामदार कार्यरत छन्। नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा मात्र विदेशी श्रमिक राख्न पाउने व्यवस्था श्रम ऐनमा छ। तर विदेशी कम्पनीले खोजेजस्तो दक्ष कामदार नेपाली नपाएको भन्दै उनीहरूले विदेशी कामदार ल्याउने गरेको उनले जानकारी दिए। साउनदेखि असोजसम्म एक सय ६५ विदेशीले नेपाल आउन नयाँ श्रम स्वीकृति लिएका छन्। असोजमा मात्र २८ विदेशीले श्रम स्वीकृति लिएको तथ्यांक छ। यस अवधिसम्म तीन सय ३५ गैर नेपाली नागरिकको श्रम स्वीकृति नवीकरण गरिएको छ। नेपालमा काम गर्ने विदेशी कामदारलाई सरकारले ६ वर्षसम्मको श्रम स्वीकृति दिने गरेको छ।
आव २०८१/८२ मा (नयाँ र नवीकरण) गरेर दुई हजार पाँच सय ५९ विदेशीले श्रम स्वीकृति लिएका छन्। जसमा आठ सय ९२ विदेशीले नयाँ श्रम स्वीकृति लिएको तथ्यांक विभागसँग छ। विभागले विभिन्न प्रतिष्ठानमा काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृति लिए/नलिएकोबारे पाँच वटा अनुगमन तीन महिना अवधिमा गरेको पाइएको छ। गत आवमा यस्तो अनुगमन ३७ वटा गरिएका थिए।
विभागका अनुसार २०८०/८१ मा जारी भएका कुल दुई हजार सात सय सात श्रम स्वीकृतिमध्ये चिनियाँको संख्या मात्र एक हजार नौ सय नौ थियो। त्यसबेला कुल ७२ मुलुकका नागरिकले नेपालमा श्रम स्वीकृति लिएर काम गरेको देखिएको छ। उक्त आवमा नेपालका तीन सय ३३ कम्पनीमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी कार्यरत रहेको तथ्यांक छ।
यो सँगै काठमाडौं – तराई/मधेस द्रुतमार्गमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन, सान्जेन खोला हाइड्रोपावर, पोली चाङ्दा इन्जिनियरिङ कम्पनी, कञ्चनपुर–कमला रोड प्रोजेक्ट, चाइना ओभरसिज इन्जिनियरिङ, हुवासिन नारायणी सिमेन्ट, होङ्सी शिवम् सिमेन्ट, हिमालय एयरलाइन्स, ब्रिटिस स्कुल, लिंकन स्कुल र हुवावे टेक्नोलोजी, रसुवागढी, त्रिशूली, मध्य भोटेकोसी, काबेली र दोहा इन्जिनियरिङ कम्पनीमा सबैभन्दा बढी विदेशी कामदार कार्यरत रहेको विभागको तथ्यांकमा उल्लेख छ।
प्रकाशित: ११ कार्तिक २०८२ ०७:२८ मंगलबार





