कैलालीको धनगढी उपमहानगरपालिका-२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय एक बालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका-८ ‘क’ गाउँका १४ वर्षीय क्रिस गोतामेको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका-८ का २२ वर्षीय दिनेश थापाको उपचार भइरहेको छ।
चौराहाबाट भन्सारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००८ प ५९५९ नम्बरको मोटरसाइकललाई मिलनचोकमा बाटो पार गर्ने क्रममा अटोरिक्साले ठक्कर दिएको थियो।
ठक्कर दिने सुदूरपश्चिम प्रदेश ०१-००२ स ६११ नम्बरको अटोरिक्सा धनगढी उपमहानगरपालिका-२ आदर्श टोलका १८ वर्षीय अङ्कित गुप्ताले चलाएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
प्रकाशित: २८ भाद्र २०८३ १९:३० आइतबार





