सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। छठ पर्वको मुख्य दिन आइतबार सार्वजनिक बिदा दिइसकेको सरकारले उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परालाई मध्यनजर गर्दै सोमबारसमेत बिदा दिने निर्णय गरेको हो।
गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै २०८३ कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा हुने जनाएको छ।
मन्त्रालयका अनुसार यस वर्ष छठ पर्व कात्तिक २९ गते आइतबार परेको छ। छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गर्ने परम्परा छ।
सोही परम्पराअनुसार छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा सोमबार पनि सार्वजनिक बिदा हुने भएकाले सम्बन्धित सबैलाई जानकारी गराइएको छ।

प्रकाशित: २७ कार्तिक २०८३ १४:४२ शुक्रबार





