आस्था र सद्भावका पर्वका रूपमा रहेको छठ मनाउनका लागि कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण गरिएको छ। नदी, खोला, पोखरी, नहर लगायतका स्थानमा पालिका, वडा, श्रद्धालुहरूले ती छठघाट निर्माण गरेका हुन्।
शुक्रबारदेखि विधिवत् रूपमा छठको सुरुवात भइसकेको छ। निर्माण गरिएको छठ स्थलमा शुक्रबारदेखि नै पूजापाठ सुरु गरिसकेका छन्। आइतबार अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाउनका लागि श्रद्धालुहरूले घरघरमा तयारी गरेका छन्। जिल्ला प्रहरी कार्यालयअनुसार कपिलवस्तुका १० पालिकाका ७० स्थानमा छठघाट निर्माण गरी श्रद्धालुहरूले छठ बनाउने तयारी गरेका छन्।
केही वर्षअघिसम्म सामान्य रूपमा मनाइने छठ बिस्तारै जिल्लामा विस्तार हुँदै गएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ३ रामघाटमा वारि र पारि दुवै तर्फ छठका लागि बेदी निर्माणसहित सजावटको काम गरिएको छ। वारि कपिलवस्तु नगरपालिकाले र पारि बुद्धभूमि नगरपालिका वडा नम्बर १० ले छठघाट निर्माण गरेको हो। रामघाट छठ पूजा समितिका संयोजक सन्तोष गुप्ताले छठका लागि सरसफाइ, बेदी निर्माण, सजावट र लाइटिङको व्यवस्था गरिएको बताए।
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ चप्परतल्लास्थित जमुहरा नालामा समेत छठका लागि तयारी गरिएको छ। सो स्थान छठ पूजा समितिका सन्तोष पाण्डेयले छठका लागि बेदी र सजावटको काम सकिएको बताए। उनले सो स्थानमा नगरपालिकाले फोहोर व्यवस्थापनको काम स्थायीरूपमै समाधान गर्नुपर्ने बताए।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले आफ्नो पालिकाभित्र रामघाट, जमुहरा लगायतका स्थानमा छठ पूजाको तयारी गरिएको बताए। उनले छठका लागि आवश्यक तयारीका लागि नगरपालिकाले हरेक वर्ष सहयोग गरेको बताए। प्रहरी उपरीक्षक मनोहर भट्टले सबै स्थानमा हुने छठका लागि सुरक्षाकर्मी परिचालन गरिने बताए।
प्रकाशित: २८ कार्तिक २०८३ १४:२१ शनिबार





