८ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

नक्कली प्रमाणपत्र पेस गरी सरकारी जागिर खाने कर्मचारीविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका एक कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। 

माधव नारायण नगरपालिकाको कार्यालयमा सामाजिक परिचालक (सहायकस्तर पाँचौं) तहमा कार्यरत कृष्ण नन्दन प्रसाद यादवले सेवामा प्रवेश गर्दा पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको अनुसन्धानबाट खुलेको हो । 

यादवले Bihar Intermediate Education Council, Patna बाट जारी भएको देखिने आईए तहको शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आयोगको दाबी छ। 

यादवले तत्कालीन जिल्ला बिकास समितिको कार्यालयमा सरकारी जागिर खान पेश गरेको  प्रमाणपत्र झुट्टा तथा नक्कली रहेको र त्यसकै आधारमा यादवले हालसम्म राष्ट्रसेवकको हैसियतमा काम गरी ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको आयोगले दायर गरेको आरोप पत्रमा उल्लेख छ। 

अख्तियारका अनुसार यादवको शैक्षिक योग्यतासम्बन्धी प्रमाणपत्रमाथि उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा उनले सरकारी सेवामा नियुक्ति तथा निरन्तर सेवामा रहन नक्कली प्रमाणपत्र प्रयोग गरेको पुष्टि भएको आयोगको निष्कर्ष छ। 

आयोगले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ तथा दफा २९ को उपदफा (२) बमोजिमको कसुर गरेको आरोप लगाएको छ। साथै, नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगसम्बन्धी कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम पनि कारबाहीको माग गरिएको छ। 

आयोगले आरोपित यादवलाई कानुनबमोजिम कैद तथा जरिवाना सजाय हुनुपर्ने मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ। 

प्रकाशित: ८ आश्विन २०८३ १३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App