मंगलबारदेखि १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान सुरु भएको छ। यसबिच कर्णाली प्रदेशको जुम्लामा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ। मंगलबार भएको एक कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले हिंसा घरभित्रबाट नै रोकिनुपर्ने धारणा राखेका छन्।
उनले भने, ‘हिंसा कुनै समूहमा मात्र सीमित हुँदैन, महिला–पुरुष दुवैलाई असर पार्ने गम्भीर सामाजिक समस्या हो। हिंसा नगर्ने प्रतिबद्धता केवल कागजमै सीमित हुनु हुँदैन, घर–घरबाट व्यवहारिक परिवर्तनका पहल सुरु गर्नुपर्छ।’
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले महिलामाथि हुने हिंसाको दर अझै उच्च रहेको बताए। उनले भने, ‘कानुनी संरचना सुदृढ हुँदैछ, तर मानसिकता परिवर्तन हुन बाँकी छ। समुदायको अग्रसरता नै हिंसा रोकथामको मुख्य उपाय हो।’
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाकी प्रमुख कल्पना नेपाल (आचार्य) ले भनिन्, ‘हामी १६ दिन मात्र होइन, वर्षभर हिंसा विरुद्ध बोल्ने र सुरक्षित समाज निर्माण गर्ने लक्ष्यसहित अघि बढिरहेका छौँ।’
कार्यक्रम एकीकृत भवन परिसरबाट नगर परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो। डिसेम्बर १ मा विश्व एड्स दिवस, डिसेम्बर ३ मा अपाङ्गता दिवस र डिसेम्बर १० मा मानव अधिकार दिवसका अवसरमा विभिन्न सचेतना कार्यक्रम गरिने भएको छ। जुम्लाका सबै स्थानीय तहमा पनि यो अभियान चलिरहेको छ।
प्रकाशित: १० मंसिर २०८२ ११:५५ बुधबार





-600x400.jpg)