१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

लमजुङमा जिप दुर्घटना, सडकबाट १०० मिटर तल खस्यो

लमजुङको मर्स्याङदी गाउँपालिका-४ स्याङ्गेस्थित बेंसीसहर-मनाङ सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये जिपका धनीको अवस्था गम्भीर रहेको छ।

बेंसीसहरबाट स्याङ्गेतर्फ जाँदै गरेको ग १ ज ७९२६ नम्बरको बोलेरो जिप अनियन्त्रित भई बिहीबार साँझ पौने ६ बजे सडकबाट करिब १०० मिटर तल खसेको हो।

दुर्घटनामा मर्स्याङदी गाउँपालिका-५ बस्ने २६ वर्षीय जिप धनी देवन गुरुङ गम्भीर घाइते भएका छन्। उनको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको छ।

यस्तै, सोही ठाउँका ४३ वर्षीय योगबहादुर गुरुङ मध्यम घाइते भएका छन् भने उनको कुममा चोट लागेको छ। जिप चालक २४ वर्षीय राजु गुरुङ र ५५ वर्षीय देवीजंग गुरुङ भने सामान्य घाइते भएका छन्।

सबै घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ पठाइएको छ।

दुर्घटनाको खबर पाउनासाथ प्रहरी सहायक निरीक्षक अजमल हुसेन धोवीको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगेर उद्धार गरेको थियो।

चालकले मादक पदार्थ सेवन (मापसे) नगरेको पाइएको र सवारीका कागजात नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त जिप भने घटनास्थलमै रहेको छ।

प्रकाशित: १५ आश्विन २०८३ १८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App