परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) को विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग भेटवार्ता गरेका छन्।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार भेटघाटका क्रममा उनीहरूबिच नेपाल-भारत द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने, पार्टी-पार्टीबिचको संलग्नतालाई गहिरो बनाउने र जनता-जनताबिचको सम्बन्ध विस्तार गर्ने कुरामा छलफल भएको छ।
भेटपछि परराष्ट्रमन्त्री खनालले सामाजिक सञ्जाल एक्स (ट्विट) मा पोस्ट गर्दै चौथाईवालेसँग भेट्न पाउँदा खुसी लागेको र दुई देशबिचको सम्बन्धलाई अझ बलियो बनाउनेबारे फलदायी छलफल भएको बताएका छन्।
यस्तै, भाजपा नेता विजय चौथाईवालेले पनि एक्समा लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सफल भारत भ्रमणपछि उनी नेपाल फर्किएको र सोही समयमा परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली आइपुगेको उल्लेख गरेका छन्।
उनले खनाललाई स्वागत गर्दै भनेका छन्, ‘हामीले दुई पार्टीहरू र जनता-जनताबिचको सम्बन्धलाई थप सुदृढ पार्न विभिन्न चरणहरूमा छलफल गर्यौँ।’
परराष्ट्रमन्त्री खनाल भारतका विदेशमन्त्री डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबारदेखि तीन दिने औपचारिक भ्रमणमा रहेका छन्। उनले समकक्षी डा जयशंकरसँग पनि औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित: २३ जेष्ठ २०८३ १२:४२ शनिबार





