१५ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

भोटेकोशी गाउँपालिकाले बाढीमा बेपत्ता परिवारका बालबालिकाको शिक्षादेखि पोषणसम्मको जिम्मेवारी लिने

रसुवाको भोटेकोशी खोलामा आएको बाढीबाट बेपत्ता भएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका परिवारलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ। बाढीमा गाउँपालिकाका ७३ परिवारका सदस्य बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको गाउँपालिकाले जनाएको छ।

बेपत्ता परिवारका बालबालिकाको तत्काल पोषणका लागि खाद्यान्न उपलब्ध गराउने र प्रभावित परिवारलाई राहतस्वरूप आर्थिक सहयोग गर्ने निर्णय गाउँपालिकाले गरेको छ। बेपत्ता भएका ७३ परिवारका सदस्य तथा उनीहरूको पारिवारिक अवस्थासहितको सम्पूर्ण विवरण संकलन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णयसमेत गरिएको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु लामाले जानकारी दिए।

अध्यक्ष लामाका अनुसार गाउँपालिकाले बेपत्ता परिवारका सदस्यसँग प्रत्यक्ष छलफल गरी उनीहरूको तत्काल आवश्यकता पहिचान गर्न थालेको छ।

'आज हामीले बेपत्ता परिवारका सदस्यसँग छलफल गरेका छौँ। उहाँहरूलाई अहिले कस्तो सहयोग आवश्यक छ भन्ने बुझेर तत्काल उपलब्ध गराउने गरी गाउँपालिकाबाट निर्णय गरिएको छ,' अध्यक्ष लामाले भने।

बाढीका कारण परिवारको मुख्य आम्दानी गर्ने सदस्य नै बेपत्ता भएपछि बालबालिकाको शिक्षा र परिवारको दैनिक जीवनमा समेत गम्भीर समस्या उत्पन्न भएको गाउँपालिकाले जनाएको छ। त्यसैले प्रभावित परिवारका बालबालिकाको शिक्षालाई प्राथमिकतामा राखेर दीर्घकालीन सहयोगको योजना अघि बढाइने अध्यक्ष लामाले बताए।

गाउँपालिकाले राहत तथा पुनःस्थापनाका विषयमा सर्वदलीय बैठकसमेत आयोजना गरेको छ। बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिले पनि प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन सबै पक्ष एकजुट हुनुपर्ने सुझाव दिएका छन्।

नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला उपसभापति दोर्जे लामाले बेपत्ता परिवारका बालबालिकाको शिक्षाका लागि स्थानीय सरकार र व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताए।

'परिवारको कमाउने खम्बा नै ढलेपछि बालबालिकाको भविष्य अन्योलमा परेको छ। त्यसैले बेपत्ता भएका परिवारका बालबालिकालाई कम्तीमा कक्षा १२ सम्म पढाउने विषयमा गाउँपालिका र भोटेकोसीका व्यवसायीबीच समन्वय सुरु गरेका छौँ,' उनले भने।

दोर्जे लामाका अनुसार बाढीबाट प्रभावित सबै परिवार आर्थिक रूपमा सम्पन्न छैनन्। धेरै परिवार दैनिक ज्यालादारी तथा सवारीसाधन चलाएर घरखर्च धान्दै आएका छन्। यस्तो अवस्थामा परिवारको मुख्य आम्दानी गर्ने सदस्य नै बेपत्ता भएपछि उनीहरू थप आर्थिक संकटमा परेको उनले बताए।

'धेरै परिवार गाडी चलाएर दैनिक गुजारा चलाउँदै आएका थिए। अहिले परिवारको आम्दानीको स्रोत नै बन्द भएको छ। त्यसैले भोटेकोसीका व्यवसायीसँग समन्वय गरेर प्रभावित परिवारलाई राहत उपलब्ध गराउने काम अघि बढाएका छौँ,' उनले भने।

यता, भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक दाहालले बेपत्ता परिवारको वास्तविक अवस्था पहिचान गर्न विवरण संकलन तथा प्रत्यक्ष छलफल भइरहेको बताए।

उनका अनुसार प्रत्येक परिवारमा कति सदस्य छन्, उनीहरूको वर्तमान अवस्था कस्तो छ र तत्काल के–कस्ता सहयोग आवश्यक छन् भन्ने विषयमा तथ्यांक संकलन भइरहेको छ।

बाढीबाट परिवारका सदस्य गुमाएका तथा बेपत्ता भएका परिवारलाई तत्काल खाद्यान्न तथा आर्थिक राहत उपलब्ध गराउनुका साथै बालबालिकाको शिक्षा, परिवारको दीर्घकालीन पुनःस्थापना र जीविकोपार्जनका लागि स्थानीय सरकार, व्यवसायी तथा अन्य सरोकारवाला निकायबीच सहकार्य गरेर अघि बढ्ने तयारी गाउँपालिकाले गरेको छ।

प्रकाशित: १५ भाद्र २०८३ १३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App