भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले डिएनए नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिएको छ। शव पहिचानका क्रममा त्रुटि नहोस् भन्ने उद्देश्यले नेपाल प्रहरीले आधुनिक ‘फोरेन्सिक’ विधि डिएनए प्रोफाइलिङमार्फत नमुना परीक्षणलाई सूक्ष्म र व्यवस्थित रूपमा अगाडि बढाएको हो।
नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीले बाढी प्रभावित क्षेत्र तथा मृतकका आफन्तबाट सङ्कलन भई प्राप्त भएका डिएनए नमुनाको परीक्षण गरिरहेको छ। नमुना सङ्कलनदेखि सुरक्षित भण्डारण र परीक्षणसम्मका प्रक्रियामा वैज्ञानिक मापदण्ड तथा उपलब्ध प्रविधिको प्रयोग गरिएको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले विपद्पछिको खोज, उद्धार तथा शव पहिचानलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाइरहेको बताए।
प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालका अनुसार बाढी प्रभावित क्षेत्रबाट मृतकका नमुना तथा आफन्तबाट सङ्कलित नमुना प्राप्त हुनेक्रम जारी छ।
'बाढी प्रभावित क्षेत्रबाट सङ्कलित मृतकका नमुना र आफन्तबाट सङ्कलित नमुना आउनेक्रम जारी छ। सङ्कलित नमुनालाई सुरक्षित भण्डारण गर्नुका साथै परीक्षणसम्बन्धी सम्पूर्ण मापदण्ड पूरागरी डिएनए परीक्षणमा अहोरात्र खटिएर कार्य गरिरहेका छौँ', उनले भने।
प्रयोगशालामा हालसम्म मृतकका आफन्त तथा अन्य स्रोतबाट प्राप्त ८०८ वटा रगतका नमुना, मृतकका दाँत तथा हड्डीबाट सङ्कलित ३४८ वटा नमुना र ८४ वटा मृतकका औँलाछापसम्बन्धी नमुना गरी जम्मा एक हजार २४० वटा नमुना डिएनए तथा सम्बन्धित फोरेन्सिक परीक्षणका लागि प्राप्त भएको प्रहरीले जनाएको छ। हालसम्म २६ जिल्लाबाट डिएनए प्रोफाइलिङका लागि रगतका नमुना प्राप्त भएका छन्।
पछिल्लो तथ्याङ्कअनुसार शव पहिचानका लागि मृतकका एक हजार २८६ तथा आफन्तका एक हजार ४१२ गरी कुल दुई हजार ६७८ डिएनए नमुना सङ्कलन गरिएको छ।
मृतकबाट सङ्कलित नमुनामध्ये चितवनबाट ३५४, धादिङबाट ७०, नुवाकोटबाट २०७, रसुवाबाट १३४, नवलपरासीपूर्वबाट १९९, तनहुँबाट ३८, गोरखाबाट ७१ र नवलपरासी पश्चिमबाट २१३ वटा नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, नेपाल प्रहरी अस्पतालमा हालसम्म ९९० मृतकका आफन्तको नमुना सङ्कलन गरिएको छ। अन्य जिल्लाबाट नमुना सङ्कलन गर्ने कार्यलाई तीव्रता दिइएको छ।
डिएनए प्रोफाइलिङ व्यक्तिको पहिचान पुष्टि गर्नुका साथै व्यक्तिबीचको जैविक सम्बन्ध स्थापित गर्न प्रभावकारी वैज्ञानिक विधिका रूपमा प्रयोग हुँदै आएको छ।
भोटेकोशी बाढीपछि अझै सम्पर्कविहीन तथा हराइरहेका नेपाली र विदेशी नागरिकको पहिचानका लागि पनि डिएनए प्रोफाइलिङलाई विस्तार गरिएको प्रहरीले जनाएको छ।
बाढीमा फेला परेका शव तथा शरीरका अङ्गको पहिचान गर्न मृतकको नमुना र सम्भावित आफन्तको नमुनाबीच वैज्ञानिक तुलना गरी पहिचान यकीन गर्ने प्रक्रिया अघि बढाइएको छ।
यसका लागि नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विशेष निर्देशन तथा निगरानी गरिरहेका छन्। उनले शव पहिचान तथा डिएनए परीक्षणसँग सम्बन्धित सम्पूर्ण प्रक्रियालाई सूक्ष्म रूपमा अध्ययन गरी वैज्ञानिक विधि र मापदण्डअनुसार काम गर्न निर्देशन दिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीले पनि डिएनए नमुना सङ्कलन, सुरक्षित भण्डारण र परीक्षण प्रक्रियालाई व्यवस्थित रूपमा अगाडि बढाइएको जानकारी दिए।
प्रकाशित: २५ भाद्र २०८३ ०८:१९ बिहीबार





