८ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

भाेटेकाेशी बाढी: बुबा र भाइको श*व नपाउँदै छोरीले दिइन् दागबत्ती

बुबा र भाइ कहाँ छन् भन्ने जवाफ नपाउँदै २१ वर्षीया रिता भण्डारीले उनीहरूको कुशको शवलाई दागबत्ती दिइन्। गत भदौ १० गते रसुवामा आएको बाढीमा बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका–४ लाम्रीका अमर भण्डारी र उनका छोरा अनिलको अहिलेसम्म अत्तोपत्तो छैन।

शव नभेटिएपछि हिन्दू परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गरिएको हो। बुबा र भाइको अन्तिम अनुहारसमेत हेर्न नपाएकी रिताले आफैं दागबत्ती दिनुपर्‍यो। बेपत्ता आफन्तको अवस्थाबारे अन्तिम जवाफ नआउँदै परिवारले संस्कार पूरा गर्नुपर्ने अवस्था आएको छ।

अमर र अनिल बेपत्ता भएपछि घरमा अहिले रिता र उनकी ४० वर्षीया आमा बाचुकली भण्डारी मात्र छन्। घरको सहारा रहेका बुबा र भाइ दुवै गुमेपछि आमाको सहारा पनि अब रिता नै बनेकी छन्।

बाढी गएको लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था पत्ता नलाग्नु परिवारका लागि शोकसँगै अनिश्चितताको पीडा बनेको छ। उक्त गाउँका युवा कमलबहादुर बुढाका अनुसार शव नपाएपछि कुशको शव बनाएर अन्तिम संस्कार गर्नुपर्ने बाध्यता आफैंमा विपत्तिपछि बेपत्ता नागरिकका परिवारले भोगिरहेको गम्भीर अवस्था हो।

प्रकाशित: ८ आश्विन २०८३ ०८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App