२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

भोटेकोशी बाढी: १३ हजारको जीवितै उद्धार, १ हजार ३५७ शव भेटिँदा ५ हजार बढी अझै बेपत्ता

रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालित खोजी तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको जीवितै उद्धार गरिएको छ।

विपद्‌मा परेर हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५ हजार ३२६ नागरिक अझै सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीमा फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको मात्रै पहिचान भएर परिवारलाई बुझाइएको छ।

सम्पर्कविहीन हुनेहरूमा सबैभन्दा बढी रसुवाका २ हजार ८६० र नुवाकोटका १ हजार ९८१ जना छन्। बेपत्ता अन्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न निकायका निजामती कर्मचारी तथा अन्य जिल्लाका सर्वसाधारण रहेको प्रवक्ता महतले जानकारी दिइन्।

उद्धार गरिएका नागरिकमध्ये ३ हजार ५३३ जनालाई रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा सुरक्षित रूपमा राखिएको छ। उनीहरूलाई खाना, लत्ताकपडा र सुरक्षित बासको प्रबन्ध मिलाइएको प्राधिकरणले जनाएको छ।

बाढीका घाइते तथा प्रभावितमध्ये ६ हजार ८२७ जनाले प्राथमिक उपचार पाएका छन्। विभिन्न १० अस्पतालमा भर्ना गरिएका ३२७ जनामध्ये २४२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। यसबाहेक नेपाली सेनाको स्वास्थ्य टोलीबाट ३ हजार ४०४ र सशस्त्र प्रहरीबाट ३ हजार ९६ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्।

प्राधिकरणका अनुसार अझै ठूलो संख्यामा नागरिक हराइरहेकाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय संयन्त्र परिचालन गरी खोजी कार्यलाई तीव्र पारिएको छ।

प्रभावित क्षेत्रमा राहत वितरण र पुनर्स्थापनाको कामलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ।

प्रकाशित: २३ भाद्र २०८३ २०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App