२४ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : एक हजार ३६६ शव फेला, चार हजार ७७ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३६६ जनाको शव फेला परेको छ। यस्तै, चार हजार ७७ जना सम्पर्कविहीन छन्।

प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५३३ पुरुष, ३३१ महिला तथा ५०२ वटा शव आंशिक अङ्गसहितका छन्। भेटिएका शवमध्ये हालसम्म १०२ शव आफन्तलाई हस्तान्तरण गरिएको छ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ९०७ पुरुष र ५७२ महिला रहेका छन्। यस्तै, विदेशी नागरिकतर्फ २६९ पुरुष र ३२९ महिला सम्पर्कविहीन छन्।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ। फेला परेका शवमध्ये एक हजार १४७ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

बाढीपछि हालसम्म नौ हजार २५४ जना घाइतेको उद्धार गरिएको छ। जसमा पुरुष छ हजार ३८०, महिला दुई हजार ८२४ र पहिचान नखुलेका ५० जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उद्धार गरिएकामध्ये तीन हजार ३० जनालाई सुरक्षित रूपमा ‘होल्डिङ सेन्टर’मा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए।

बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखत गर्न ‘डिएनए’ परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म मृतक एक हजार २८६ जना र मृतकका आफन्त एक हजार ४१२ जना गरी दुई हजार ६९८ जनाको डिएनए नमूना सङ्कलन गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०८३ ०६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App