मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा सुमो दुर्घटना हुँदा दुई महिलासहित तीन जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।
आज बिहान करिब ८ः३० बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रुवाहक सुमो घुम्तीमा अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको हो।
दुर्घटनामा सुमो चालकसहित १० जना घाइते भएका थिए। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो। बिहान ९ः२० बजे अस्पताल पुर्याइएका घाइतेमध्ये तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए।
मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ की २५ वर्षीया अनुसा लामा, सोही ठाउँकी २०/२२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा रहेका छन्।
दुर्घटनामा घाइते हुनेमा सुमो चालक चन्द्रनिगाहपुर नगरपालिका–४ का ३३ वर्षीय कालुमान लोप्चन रहेका छन्। उनको ढाडमा चोट लागेको छ।
त्यस्तै, चन्द्रनिगाहपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा धोज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर घाइते भएका छन्।
घाइतेमध्ये निमाको बायाँ काँध र दाहिने हातमा, कान्छा धोजको बायाँ करङमा, सुमिना र सिखाको ढाडमा, हरिमायाको बायाँ काँधमा तथा वेयहानको टाउको र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरू सबैको अवस्था मध्यम रहेको छ। घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनालगत्तै प्रहरी चौकी भैँसे, जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय भीमफेदीबाट २७ जना प्रहरी परिचालन गरिएको थियो। उद्धार कार्यमा नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीसमेत खटिएको थियो।
प्रकाशित: ३ मंसिर २०८३ ११:२३ बिहीबार


-600x400.jpg)


