उदयपुरका उद्योगी, व्यापारीहरूको छाता संस्था त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको अध्यक्षमा नवीन बस्नेत चयन भएका छन्। शनिबार उद्घाटन भएर आइतबार बिहान सम्पन्न नवौँ साधारणसभा तथा सातौँ अधिवेशनले बस्नेतको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
बन्दसत्रले सर्वसम्मत चयन गरेको समितिमा वरिष्ठसहित ५ उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव र २ कोषाध्यक्ष तथा ८ जना सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको छ। निर्वाचन समितिका अनुसार अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठलाई चयन गरेको छ। प्रथम उपाध्यक्ष जयप्रकाश गजमेर छानिएका छन् भने दोस्रो उपाध्यक्ष प्रदीप देउजा, वाणिज्य उपाध्यक्ष प्रज्वल अधिकारी र उद्योग उपाध्यक्ष रामकुमारी राई छानिएकी छन्।
त्यसैगरी रुपम अनुराग गुप्तालाई महासचिव छानेको अधिवेशनले शंकर साहलाई सचिव, ज्ञानेन्द्र थापालाई सहसचिव र सरोज बस्नेतलाई कोषाध्यक्ष चयन गर्दा रञ्जित विश्वकर्मालाई सहकोषाध्यक्ष बनाएको छ। सदस्यमा हरिप्रसाद भट्टराई, प्रविसकुमार साह, मणिराज थापा, राजेश कार्की, ब्रम्हदेव महतो, बब्लुकुमार साह, एकराज बस्नेत र विजयप्रसाद गुप्ता चयन भएको निर्वाचन समितिले जनाएको छ।
यो अधिवेशनमा विगतमा जस्तो व्यापारीहरूबिच पदको लडाइँ देखिएन। विगतका अधिवेशनहरूमा नेतृत्व हडप्ने कुरामा चर्को प्रतिस्पर्धा हुँदै आएको थियो। ३ वर्षअघि गठन भएको अघिल्लो कार्यकाल नेतृत्व गर्न अध्यक्षका आकांक्षी धेरै हुँदा तोकिएको समयमा चुनाव हुनै नसकेर नेतृत्व चयन हुन सकेको थिएन।
लामो समयसम्म रोकिएको अधिवेशन बल्ल सम्पन्न भए पनि आधा व्यापारी त्रियुगा उद्योग वाणिज्य संघबाट अलग भएर समानान्तर समिति गठन गर्दै चुडामणि कार्की समूहले जिल्ला उद्योग वाणिज्य संघको स्थापना गर्न पुग्यो। नेतृत्वको विवादले संघलाई विभाजनसम्म पुर्याएको विगत बिर्सिँदै सर्वसम्मत कार्यसमिति चयन गरेको निवर्तमान अध्यक्ष रमेश रसाइलीले बताए।
अघिल्लो कार्यकालका लागि तत्कालीन वरिष्ठ उपाध्यक्ष रसाइली र महासचिव चुडामणि कार्कीबिच अध्यक्षका लागि कडा प्रतिस्पर्धा हुँदा संघ विभाजन हुन पुगेको हो। अध्यक्षकै दावेदारीमा कुरा नमिल्दा एउटै उद्देश्यका लागि दुईवटा वाणिज्य संघ बन्न पुगेको थियो। अन्ततः रसाइली अध्यक्ष भएर कार्यकाल सक्दै नयाँ उत्तराधिकारीलाई नेतृत्व जिम्मा दिएका छन्।
उता जिल्ला उद्योग वाणिज्य संघ गठन गरेका कार्कीले पनि केही समयअघि मात्र अधिवेशन सक्दै नयाँ नेतृत्व छानेर नेतृत्व हस्तान्तरण गरिसकेका छन्। शनिबार सुरु अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य संघ प्रदेश समिति अध्यक्ष राजेन्द्र राउतेले गाईघाटमा उद्योग स्थापना गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। गाईघाटलाई व्यापारिक आकर्षण दिनका लागि उद्योग खोल्नुपर्नेमा जोड दिँदै अध्यक्ष राउतले त्यसका लागि औद्योगिक ग्रामको अवधारणा अघि सार्न आग्रह गरे।
मदन भण्डारी लोकमार्गको सञ्चालनले गाईघाट क्षेत्र व्यापार व्यवसायको राम्रो सम्भावना बोकेको ठाउँ रहेको भन्दै राउतले त्यसलाई यथार्थमा बदल्न स्थानीय व्यापारी व्यवसायी, जनप्रतिनिधि र सरकार लागिपर्नुपर्ने बताए। पूर्वको झापादेखि पश्चिम डडेलधुरासम्म जोड्ने मदन भण्डारी लोकमार्गले उदयपुरको बेलकादेखि बेलटार, गाईघाट, कटारी हुँदै सिन्धुलीको भिमान, हेटौँडा छिचोलेर गाईघाट उद्योग कलकारखाना राम्रोसँग चल्ने सम्भावना रहेको उनको भनाइ थियो।
‘गाईघाट जिल्ला सदरमुकामसँगै मदन भण्डारी हाइवेले पनि छोएको कारण यहाँ व्यापार व्यवसायको धेरै राम्रो सम्भावना छ,’ राउतले भने, ‘तर, उद्योगधन्दा र कलकारखानाहरू खोल्नुपर्छ, त्यसका लागि स्थानीय व्यापारी व्यवसायी, राजनीतिक दलहरू र सरकारसमेतले ध्यान दिन आवश्यक छ।’
प्रकाशित: १५ भाद्र २०८२ ०७:४६ आइतबार

