नेपालस्थित बंगलादेश दूतावासले मंगलबार काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी ‘जुलाई अपराइजिङ डे’ (जुलाई जनविद्रोह दिवस) मनाएको छ।
हालै बंगलादेशमा भएको सफल जनविद्रोहको स्मरणमा आयोजित उक्त कार्यक्रममा अधिनायकवादी शासनको अन्त्य र लोकतन्त्र पुनर्स्थापनामा युवा पुस्ताले खेलेको भूमिकाको उच्च प्रशंसा गरियो।
कार्यक्रमका प्रमुख अतिथि, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिवसको शुभकामना दिँदै बंगलादेशको लोकतान्त्रिक यात्रामा नेपालको पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री गुरुङले जुलाई जनविद्रोहलाई बंगलादेशी जनताको लोकतन्त्रप्रतिको सामूहिक इच्छाशक्तिको प्रतीकको रूपमा चर्चा गर्दै भने, ‘नयाँ पुस्ताबाट थालनी भएको यो आन्दोलनले ल्याएको ऊर्जा र उत्साह विशेष छ।’
उनले नेपाल र बंगलादेशबीच व्यापार, लगानी, पर्यटन, र सूचना प्रविधिजस्ता क्षेत्रमा सहकार्य अझ सशक्त बनाउनुपर्नेमा जोड दिए।
नेपालका लागि बंगलादेशी राजदूत शफिकुर रहमानले दमन र विभेदविरुद्ध लड्ने संघर्षकर्ताहरूको योगदानको स्मरण गरे। उनले दीर्घकालीन अधिनायकवादी शासनबाट देशलाई मुक्त गराउन विशेषगरी युवा पुस्ता (जेन जेड) र विदेशमा रहेका बंगलादेशीहरूले खेलेको भूमिकाको प्रशंसा गरे।
राजदूत रहमानले यो जनविद्रोहलाई लोकतान्त्रिक र समृद्ध बंगलादेश निर्माणको अवसरको रूपमा लिँदै अन्तरिम सरकारका पहलहरूमा सबैले हातेमालो गर्नुपर्ने बताए।
कार्यक्रममा बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिन र सरकारका प्रमुख सल्लाहकार (नोबेल पुरस्कार विजेता) मुहम्मद युनुसले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो। साथै, जुलाई जनविद्रोहसँग सम्बन्धित एक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।
कार्यक्रममा सार्कका महासचिव मोहमद गोलाम सरवारले बंगलादेश सरकार र नागरिकहरूलाई शुभकामना दिएका थिए।
कार्यक्रममा विभिन्न देशका राजदूतहरू, कूटनीतिक नियोगका प्रतिनिधि, सार्क सचिवालय, इसिमोड, युनिसेफजस्ता क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि, विशिष्ट व्यापारी, व्यवसायी, नागरिक समाजका अगुवा तथा पत्रकारहरूको बाक्लो उपस्थिति थियो।
प्रकाशित: २० श्रावण २०८२ २१:५९ मंगलबार





